Breaking

चीन र ताईवानबीच युद्ध हुने संकेत, चिनिया सेनाको ताइवानलाई घेरा हाल्ने अभ्यास


काठमाडौँ — चिनियाँ सेनाले सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ । ताइवानका राष्ट्रपति इङ वेनको अमेरिका भ्रमणपछि चीनले ताइवान टापुमा घेरा हाल्ने सैन्य अभ्यास गरेको हो । ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणको परिणाम राम्रो नहुने चेतावनी दिएको थियो । ताइवानका राष्ट्रपति साई इङ्ग–वेन र अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीबीचको भेटलाई लिएर चीनले सैन्य अभ्यास सुरु गरेको छ । चीनको चेतावनीबिच ताईवानका राष्ट्रपति साईले अमेरिकाका सभामुख केभिन म्याकार्थीलाई भेटेका थिए । चीनले ताइवानका राष्ट्रपति साईले अमेरिका भ्रमणका क्रममा त्यहाँको तल्लो सदनका सभामुखलाई भेटेमा त्यसविरुद्ध लड्ने चेतावनी दिएको थियो ।

गत वर्ष पनि पूर्वसभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको चीनले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व सैन्य अभ्यास गरेको थियो । पछिल्लो समय चीनको सेनाले अप्रिल ८ देखि १० सम्म तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ । राष्ट्रपति साईको उच्चस्तरीय भेटवार्ताको विरोध स्वरुप चीनले ताइवान टापु घेरा हाल्ने सैन्य अभ्यास गरेको छ । ताइवानको रक्षा मन्त्रालयले ४२ वटा चिनियाँ सैन्य विमान र आठ वटा लडाकु पानी जहाजले चीन र ताइवान छुट्याउने मध्य रेखा पार गरेको जनाएको छ ।

चीनले ताइवानलाई आफ्नै प्रान्त मान्दै आएको छ भने ताइवानले आफूलाई एक स्वतन्त्र देश दाबी गर्दै आएको छ । अहिले चलिरहेको सैन्य अभ्यासले ताइवान टापुलाई चीनले जुनसुकै बेला कब्जा गर्न सक्ने सामथ्र्य देखाउन खोजेको छ । चिनियाँ सेनाले ताइवान वरपर लामो दूरीका रकेट, मिसाइल, लडाकु विमान, बमवर्षक लगायतका अत्याधुनिक हतियार तैनाथ गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना भाषणहरूमा ताइवानसँगको एकीकरण पूरा हुने बताउने गरेका छन् । उनले यो हासिल गर्न बल प्रयोग गर्न सक्ने पनि बताएका छन् । ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्र मान्ने गरे पनि लामो समयदेखि चीनले त्यसलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ ।