Breaking

शक्तिशाली मन्त्रालयमा अशक्त पात्र, देउवा-प्रचण्डको रोजाईले देश डुब्ने संकेत, काजी-महतले के भने ?


काठमाडौँ — सबैभन्दा कामकाजी मन्त्रालय हुन्, गृह र अर्थमन्त्रालय । तर यी दुवै मन्त्रालयमा निराशावादी अनुहारले प्रवेश पाएको छ । फलतः नेतृत्व रिझाएकै भरमा जिम्मेवारी पाएका उनीहरुलाई कामबाट जनता रिझाउने चुनौती थपिएको छ । गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठको नाममा पनि ‘प्रकाश’ छ । अर्थमन्त्री बनेका प्रकाशशरण महतको नाममा पनि प्रकाश नै छ । तर यी दुवैप्रकाशले देशलाई उज्यालोतर्फ लैजानसक्ने ताकत भने अहिलेसम्म देखाएका छैनन् । चारपटक मन्त्री बनेका नारायणकाजीदोस्रोपटक गृहमन्त्री बने ।चौथोपटक नै मन्त्री बनेका प्रकाशशरण महत पहिलोपटक अर्थमा जानुको अर्थ देखाउन सिंहदरबार छिरेका छन् । तर उनीहरु दुबैको विगत सम्झिएर आशा जगाउने अवस्था छैन । किनकि पटकपटक मन्त्री हुँदा पनिसम्झिनयोग्य काम नगरेका उनीहरुलाई शंका गर्ने ठाउँ छ ।

प्रचण्ड नेतृत्वको यही सरकारमा यसअघि भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीमा रहेका नारायणकाजी रोजेको मन्त्रालय नपाएपछि हाजिर गर्नै गएनन् । तथापी सपथ लिएको तीनदिनपछि मात्रै कामकारबाही थालेका उनले निर्देशन र अनुगमनको ओइरो लगाए । जनताको हप्की खाएरै भएपनि आश्वासन बाड्दै हिडे । प्रतिफल देखाउनेबेला जिम्मेवारी फेरिएपछि उनको तीनमहिने दौड ‘काम न काजका दूश्मन अनाजका’ जस्तै भएको छ । अहिले गृहजस्तो शक्तिशाली र शान्ति सुरक्षासहित सुशासनसँग जोडिएको मन्त्रालयमा हाम त फालेका छन् ।तर प्रतिफल दिनेमा शंका छ ।

किनकि पार्टीभित्र दोस्रो वरियतामा रहेका श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले आन्तरिक व्यवस्थापन र भागबण्डाकै आधारमा गृहमन्त्री बनाएका हुन् ।अहिलेसम्म न चुनाव जितेको रेकर्ड छ, न रेकर्ड राख्न योग्य काम नै गरेका छन् ।आशाको मन्त्रालयमा निराशाको अनुहारले प्रवेश पाएको छ ।तर नारायणकाजीभन्दा पनि निराशावादी अनुहारको प्रवेश अर्थमा भएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई रिझाएकै भरमा सर्वाधिक अवसर प्राप्त गर्ने नेताको रेकर्ड बनाएका छन् प्रकाशशरण महतले । तर बिग्रिदैँ गएको अर्थको बागडोर सम्हाल्ने उपयुक्त पात्र महत नभएको भन्दै पार्टीभित्रै आलोचना भएको छ । तथापी दाजू रामशरण महतले बसाएको जगमा उभिएर अर्थको बर्बादी रोक्ने दायित्व भाई महतले पाएका छन् ।

यसअघि परराष्ट्रमन्त्री बन्दा राजदूत नियुक्तीदेखि सचिवसँग टक्कर चलाएको विषयले महत आलोचित बनेका थिए । कार्यसम्पादनभन्दा विदेश भ्रमणकै कारण उनको चर्चा र विवाद भएको थियो ।तर अर्थमन्त्री महत पीएचडीधारी डाक्टर हुन् ।अर्थनीतिमै विद्यावारिधि गरेका उनले ड्राईभिङ सिटमै बसेर अर्थतन्त्र हाक्ने जिम्मेवारी पाएका छन् ।तर काबिल अर्थशास्त्री होइनन् भन्ने कुरा दुनियाँलाई जगजाहेर छ । फलतः योग्यता भएरमात्रै के गर्नु ?ढंग नपुगेपछि भाँसिदै भाँसिदै डीलमा गएको अर्थतन्त्र भड्खालोमा जागिने जोखिम महतको प्रवेशले झनै बढाएको छ ।

दुईशक्तिशाली मन्त्रालयमा नेतृत्व रिझाएकै भरमा प्रवेश पाएका पात्रहरुले जनता रिझाउने चुनौती थपिएको छ ।त्यसमध्ये पनि जनताको दैनिकीसँग सबैभन्दा धेरै जोडिएका मन्त्रालय नै अर्थ र गृह हुन् ।अब विगतको निराशावादी छबि सुधार्नकै लागि भएपनि प्रतिफल देखाउनुपर्ने बाध्यता दुवै प्रकाशलाई परेको छ । नत्र देशलाई अन्धकारमा धकेल्ने पात्रका रुपमा उनीहरुको पहिचान बन्ने छ ।