Breaking

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत


काठमाडौँ — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ ।

उनले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गरेका छन् । शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र देवराज शाही एक–एकजना सांसदले शर्माको पक्षमा मत हालेका थिए । मुख्यमन्त्री शर्माले यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए । यद्यपि राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिएका हुन् ।