Breaking

मधेशको लडाई, भिडन्तमा उपेन्द्रदेखि राजेन्द्र महतोसम्म, बदला लिँदै सिके राउत


काठमाडौँ — राम सहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली बनेको बारा क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा चलिरहँदा गत निर्वाचनमा यादवलाई नै पराजित गर्दै संसदीय राजनीतिमा उदाएका सिके राउत उपनिर्वाचनमा पनि उपेन्द्र यादव हराउने अभियानमा देखिएका छन् । पार्टी अध्यक्ष नै चुनाव हारेपछि संसदमा रानोविनाको माहुरी झैँ भएको जसपा यस पटक कसै गरि पनि आफ्नो सर्वाेच्च कमाण्डर उपेन्द्र यादवलाई संसदमा पुर्याउने रणनीतिमा छ ।

नयाँ सत्ता समीकरणले पार्टीलाई उपराष्ट्रपतिको भाग आइलागेपछि बहालवाला सांसद राम सहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा क्ष्ेत्र नम्बर दुईमा उपनिर्वाचनको मैदान खाली गराएको छ । र पुन मैदानमा उत्रिदै संसदमा पुग्ने अवसरको सदुपयोग गर्दैछन् उपेन्द्र यादव । बैशाख १० गते हुने उप–निर्वाचनमा पार्टी अध्यक्ष यादवले आफु नै चुनाव लड्ने भनेर उद्घोष त गरेका छैनन् तथापी अघोषित रुपमै सोही अनुसार दुनो सोझ्याइसकेका छन् ।

तर उनको यो रणनीतिमा सबैभन्दा ठूलो पर्खाल कोही छन् भने उनी हुन् सिके राउत । मधेष आन्दोलनबाट उदाएका यादवलाई गत निर्वाचनमा सप्तरी दुईमा जनमत पार्टीका अध्यक्ष सिके राउतले चाहेर पनि विर्सिन नसक्ने मतान्तरसहित हारको स्वाद चखाए । उनै सिके राउत उप निर्वाचनमा पनि उपेन्द्र यादवलाई कसैगरी रोक्ने जुक्तिमा लागेका छन् । उपेन्द्रलाई रोक्न राउतले रामसहाय प्रसादसंग दोस्रो मत ल्याउँदै पराजय भोगेका माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुशवाहलाई अकस्मात पार्टी प्रवेश गराइ चुनावी मैदानमा पठाउन तयार पारेका छन् ।

जसपाको उम्मेदवार राम सहाय प्रसादले १३ हजार ८ सय २२ मत सहित चुनाव जित्दा उनका प्रतिद्धन्दी कुशवाहले १३ हजार ४ सय ६८ मत ल्याएका थिए । २०६४ देखि नै जसपाको कब्जामा रहेको बारा दुईमा यसपटक आइसब्रेक गराउने तयारीमा सिके राउत देखिएका छन् । जसले विशचन्दलाई पनि भाग्योदय हुने विश्वास पलाएको छ ।

अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने उद्घोष नै गरिसकेका छन् । बैकल्पिक नयाँ राजनीतिक दलहरुलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन आग्रह समेत गरेका छन । दल र व्यत्तिगत स्वार्थमा विभाजित मधेश केन्द्रित दल मधेशमै संकट उन्मुख छ । अझ मधेस राजनीतिको टकरावमा उपेन्द्र यादव र सिके राउतको रोमान्चक राजनीति देखिने निश्चित छ ।

अझ सत्तारुढ नेपाली कांग्रेसले आधिकारिक रुपमै जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोक्न तयार भएपछि लोसपाका राजेन्द्र महतो बारा दुईबाटै सदन छिर्ने दाउमा लागेका छन । फलत बारा दुईको उप निर्वाचन मधेशका शीर्ष नेतृत्वका लागि प्रतिष्ठाको लडाई बन्ने निश्चित छ । संधै सत्ताको वरीपरी रहेका उपेन्द्र यादव र मधेश राजनीतिमा वैकिल्पक शक्तिको रुपमा उदाएका सिके राउतको प्रतिस्पर्धा आम चासोको विषय बनेको छ ।