देश

काठमाडौं मोडल कलेज विश्वविद्यालय अनुदान आयोगद्वारा क्यूएए प्रमाणित कलेज घोषित


काठमााडौँ — नेपालको शैक्षिक क्षेत्रमा निरन्तर अब्बल शैक्षिक संस्थाको रूपमा परिचित बागबजारस्थित काठमाडौं मोडल कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) बाट प्रमाणित भएको छ । देशभरका क्याम्पसहरूको गुणात्मक परिवर्तन र विश्वसनीयता वृद्धि तथा समस्या समाधानलगायतका उद्देश्यसहित स्थापित विश्वविद्यालय अनुदान आयोगद्वारा गरिएको मूल्यांकनमा केएमसी क्यूएएबाट प्रमाणित भएको हो ।

मंगलबार आयोगले यस कलेजलाई क्यूएए प्रमाणित गरेको हो । स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षण सिकाइको प्रवर्द्धन र वकालत गर्दै र त्यसअनुरूप आफ्ना शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको केएमसी क्यूएएबाट प्रमाणित हुने १ प्रतिशतभन्दा पनि कम कलेजहरूमध्येमा परेको छ ।

क्यूएएले नीति तथा योजनाको प्रावधान तथा कार्यान्वयन, पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापको प्रभावकारिता, गुणस्तरीय शिक्षण सिकाइ, उचित मूल्यांकन तथा कर्मचारीको क्षमता विकास, अनुसन्धान प्रवर्द्धन तथा सामुदायिक रूपमान्तरणका गतिविधिहरू सञ्चालन, पर्याप्त पूर्वाधार र सिकाइ स्रोतहरूको उपलब्धता, विद्यार्थीको क्षमता अभिवृद्धि तथा रोजगारीको प्रवर्द्धन, सञ्चार तथा प्रविधिको विकास, सूचना प्रवाहमार्फत सरोकारवालाप्रति जवाफदेहिताजस्ता महत्त्वपूर्ण पाटोहरूमा शैक्षिक संस्थाको खास अवस्था मूल्यांकन गरी प्रमाणित गर्ने गर्छ ।

यी सबै मापदण्डहरूमा केएमसी सर्वोत्कृष्ट ठहरिएसँगै विश्वविद्यालय अनुदान आयोगद्वारा क्यूएए प्रमाणित भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले विस्तृत तथा शृंखलाबद्ध अनुगमन र मूल्यांकनपछि सरकारको आधिकारिक निकाय विश्वविद्यालय अनुदान आयोगले केएमसीलाई क्यूएए प्रमाणित भएको घोषणा गरेको हो । क्यूएए प्रमाणित भएसँगै केएमसी कलेजका प्रमुख सुरेन्द्र सुवेदीले‘कलेजले पाएको उपाधिले थप उत्साहित र जिम्मेवार बनाएको बताए ।

अब केएमसीले गुणस्तरीय शिक्षाका लागि देशबाहिर गइरहेका विद्यार्थीलाई विश्वस्तरीय व्यावहारिक शिक्षा प्रदान गरी विद्यार्थी बाहिरिने क्रम कम गर्नेगरी शैक्षिक कार्यक्रम अघि बढाउने सुवेदीले बताए । साथै दक्षिण एसियालगायत अन्य मुलुकका विद्यार्थीलाई समेत आकर्षित गरी नेपाललाई शैक्षिक हब बनाउन केएमसीले भूमिका खेल्ने उनको भनाइ छ । वर्तमान आवश्यकता, व्यावहाकिता र उपयोगी किसिमको नयाँ कोर्ससहितको स्वायत्त शैक्षिक कार्यक्रमहरूसमेत सुरु गर्ने केएमसीको योजना रहेको उनले बताए ।

भारतलगायत विश्वका थुप्रै विकसित मुलुकमा अभ्यास र सार्थकसिद्ध भएको मानित विश्वविद्यालयको रूपमा अघि बढाउन प्रयास गर्नेसमेत केएमसीको योजना छ । मानित विश्वविद्यालयले आफैँ पाठ्यक्रम निर्माण गर्न, लागू गर्न, परीक्षा सञ्चालन गर्न सक्नेछ । तर, अरु विश्वविद्यालयसरह सम्बन्धन दिन भने सक्ने छैन । नेपाल सरकारको शिक्षा नीतिमा समेत नेपालमा मानित विश्वविद्यालय सञ्चालन गर्न सकिने प्रावधान छ ।

विकसित देशहरूमा उच्च शिक्षा कार्यक्रम सञ्चालन गर्न गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्ति अनिवार्य हुन्छ । सोहीअनुरूप नेपाल सरकारले राष्ट्रिय शिक्षा नीति २०७६ मा गुणस्तर सुनिश्चित गर्न असफल हुने शैक्षिक संस्थाहरूलाई बन्द गर्ने प्रावधान उल्लेख गरेको छ । नेपालले वि.सं २०६४ सालबाट विश्वविद्यालय अनुदान आयोगमार्फत औपचारिक रूपमा विश्वविद्यालय तथा कलेजहरूलाई क्यूएए प्रमाणित गर्न सुरु गरेको हो ।