Breaking

बारा २ मा उपेन्द्र यादवलाई सिफारिस गर्दै जसपा प्रदेश समिति


काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले आज बारा २ का लागि उम्मेदवारमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गर्ने भएको छ ।

हिजो बारा २ को जसपा क्षेत्रीय भेलाले जिल्ला समितिलाई पठाएको थियो । जिल्ला समितिले पनि हिजै प्रदेश समितिलाई समितिलाई पठाइसकेको छ । आज त्यसमा छलफलका लागि मधेस प्रदेश समितिको बैठक बस्दैछ । सो समितिले बारा २ को उपनिर्वाचनका लागि उम्मेदवारमा उपेन्द्र यादवको नाम सिफारिस गर्ने जसपाका प्रचार विभागले जनाएको छ ।

बारा २ बाट प्रतिनिधि सभा सदस्यमा जितेका रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो । सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन गइरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले त्यहाँबाट उम्मेदवारी दिने लगभग निश्चित भएको छ । अध्यक्ष यादव सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका हुन् ।