Breaking

मन्त्रालय बाँडफाँट निष्कर्षविहीन, चितवन उडे प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा छन् । तर, अझै मन्त्रालय भागबन्डाको विषय टुंगिएको छैन ।

सत्ता गठबन्धनमा आबद्ध नौ दल सरकारमा सहभागी हुने करिब पक्का भएको छ । मन्त्रालय बाँडफाँटमा कुरा मिल्न बाँकी छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक पनि निष्कर्षविहीन बनेको छ । योसँगै प्रधानमन्त्री प्रचण्ड चितवनतर्फ लागेका छन् । एक कार्यक्रमका लागि उनी चितवन गएका हुन् ।

प्रधानमन्त्री चितवनबाट फर्किएपछि आजै दिउँसो २ बजे पुनः बैठक बस्ने एक नेताले जानकारी दिए । उनका अनुसार केही पार्टीले पाउने मन्त्रालयको बाँडफाँट टुंगिएको जनाएको छ ।

नेताहरू पटक–पटक छलफलमा जुटेका छन् । तर, मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको छ । नेताहरूबीच कुन पार्टीले कति मन्त्रालय पाउने भन्ने सहमति भने भइसकेको बताइएको छ ।