Breaking

सेतो मच्छिन्द्रनाथ रथयात्रा आजबाट सुरू, रथको रूटमा सवारी साधन निषेध


काठमाडौँ – काठमाडौँको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरू हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरू हुन्छ ।

अपराह्न चार बजे तीनधारा पाठशालाबाट सुरू हुने रथजात्रा तीन दिनपछि लगन पुगेर सम्पन्न हुन्छ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन समेत छ ।

चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ बनाइन्छ । रथ निर्माण र जात्राका लागि आवश्यक सम्पूर्ण खर्च गुठी संस्थानले गर्छ ।

सो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न सुरू हुन्छ ।

रथजात्राका लागि काठमाडौँ महानगरपालिकाले रूट निर्धारण गरिदिएको छ । रथजात्रा हुने सडकहरुमा सबै प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरिएको महानगरपालिकाले जनाएको छ ।