Breaking

गृहमा फर्कने रविको आश, पूर्णबहादुर र माधवलाई रोक्दै प्रचण्ड (भिडियोसहित)


काठमाडौँ – राज्य सञ्चालनमा महत्वपूर्ण मानिने गृह मन्त्रालय हत्याउन अहिले १० मध्येका ४ दलको रेश लागेको छ । बाहिर जे जस्तो भने पनि पार्टी बैठक र गठबन्धनको बैठकमा भने शीर्ष दलले गृहको दावी छोडेका छैनन् ।

मन्त्रीमण्डल विस्तारमा सबैको चासो गृह, अर्थ जस्ता ठूला र मालदार मन्त्रालयको नै हुने गर्छ । यी मन्त्रालय हत्याउन नेताहरुका कसरत ठूलै हुने गरेको छ । अझ गृह मन्त्रालय राज्य सञ्चालनको एउटा प्रमुख खम्बा नै भएको हुँदा यसको लालच सबै शीर्ष दलमा परेको छ । देशमा सुशासन कायम गर्ने मन्त्रालय विगत दुई महिना दिनदेखि खाली हुँदा १० दलको सहयोगमा निर्माण भएको सरकारमा ४ दल गृहको साँचो कब्जामा गर्ने दाउँमा छन् । प्रहरी संगठनदेखि ७७ जिल्लाको जिल्ला प्रमुखको सरुवा बढुवामा र आर्थिक चलखेल पनि हुने हुँदा सबै ठूला दलको गिद्धे नजरमा यसैमा परेको छ ।

ओली–प्रचण्डबीच तिक्तताको सुरुवात भएको गृहमा नेपाली कांग्रेसका उपसभापति समेत रहेका पूर्णबहादुर खड्काको विशेष चासो छ । कृष्णप्रसाद भट्टराईकै पालामा गृहको बाग्डोर सम्हालिसकेको खड्कालाई पुनः गृहको कुर्सीले लोभ्याईरहेको छ । गठबन्धनबाट लगभग को गृहमन्त्री बन्ने भन्ने पक्कापक्की जस्तै भईसके पनि उनी अझै झिनो आशासहित पार्टीले निर्णय गरिनसकेको र गृह कसैको भागमा नपरेको तर्क गरिरहेका छन् ।

पुस १० गते बनेको सरकारमा गृह माओवादीलाई दिने सहमति अनुसार प्रचण्डले नारायणकाजी श्रेष्ठलाई वचन दिईसके पनि एमाले अध्यक्ष केपी शर्मा ओली तगारो बनेपछि रवि लामिछानेले पाउँदा अस्वस्थ भएका श्रेष्ठ अहिले भने फुर्तिला भएका छन् । अहिले भोग गरिरहेको मन्त्रालयमा अर्काे एक थपिने भएपछि माओवादीलाई पनि चिठ्ठा परेको छ । माओवादीबाट गृहको अनुभव सम्हालिसकेका शक्ति बस्नेत गृहमा जान त चाहन्छन् तर, पहिले नै प्रचण्ड वचनबद्ध हुँदा श्रेष्ठको पल्ला भारी छ । श्रेष्ठ प्रधानमन्त्रीको क्लिन चिटको पखाईमा छ ।

राष्ट्रपति कांग्रेस, माओवादीलाई प्रधानमन्त्री र जसपालाई उपराष्ट्रपति सुम्पिएको नेकपा एकीकृत समाजवादी अब मन्त्रालय रोज्ने पालो आफ्नो भएको दावी गर्दै आइरहेको छ । पार्टी र गठबन्धनको बैठकमा गृहको दावी नछोडेको एसले बाहिर भने आफूहरुले गृहकै लागि अंकुशो अड्काएर नराखेको प्रतिक्रिया दिइरहेको छ ।
माघ १३ गते सर्वाेच्च अदालतको आदेश पछि अनागरिक भएसँगै सबै पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पुनः गृहको जिम्मेवारी सम्हाल्ने दाउमा छन् । अदालतको आदेशको २ दिन पछि नै कानुनी प्रक्रिया अनुसार नेपाली नागरिकता सक्रिय गराएका लामिछाने कुनै पनि हालतमा गृहमन्त्रालय नछोड्ने अडानमा रहेको बुझिन्छ ।

पहिले पनि जनताको आशु पुछ्न गृहमन्त्री बनेको र फेरि पनि जनताको आवाज बन्न गृहमा नै जाने आश्वासन दिँदै उपनिर्वाचनमा होमिएको छन् । शीर्ष राजनीतिक दलका नेताहरु स्वार्थमा नै लिप्त हुँदा जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने गृहको कुर्सी अहिले शक्ति केन्द्रको हतियार बनेको छ । जसका कारण १० दल मध्ये ४ दलको लक्ष्य गृहको कुर्सी हत्याउने नै छ ।