Breaking

अमेरिकाको मिसिसिपी र अल्बामा आँधीको बितण्डा, दुई दर्जन बढीको मृत्यु, खोज र उद्धार जारी

योहो संवाददाता

काठमाडौँ– देशको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाले ज्यान गुमाएका छन्भने सयौँ घाइते भएका छन् । खोज तथा उद्धार प्रयास जारी छ भने राज्य सरकारले आपत्काल घोषणा गरेको छ । आँधीबाट रोलिङफार्क अति प्रभावित भएको छ । कुच्चिएका मोटरकार, इँटा र शिशाले सडक हेरिनसक्नु छ भने पुरै शहर प्रायः भग्नावशेषमा परिणत भएको छ । यहाँका एक जना बासिन्दाले आँधीका बेला ‘बाथ टब’मा बस्दा आफ्नो ज्यान जोगिएको बताएका छन् ।

पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ । सबैतिर तहस–नहस । वरिपरिको खेतबारीका रमणीय वातावरण पनि आँधीको चपेटामा परेको छ । वोटविरुवा सोत्तर भएका छन् । घरहरू भत्केका छन्, तिनका भग्नावशेष यत्रतत्र फैलिएका छन् । रुख जरैदेखि उखेलिएका छन् । मोटरकार उत्तानो परेका छन् । घरका पर्खाल र छाना देखिदैनन् । भग्नावशेषको उरुङबाहेक केही देखिँदैन ।

निरपेक्ष गरिबीको रेखामुनि रहेका यहाँका करिब दुई हजार जनतालाई तत्काल सहायता परिचालन गर्न राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकारलाई आदेश दिनुभएको छ । अस्थायी आवास, घरमर्मत, बीमा नगरिएको सम्पत्तिको नोक्सानी क्षतिपूर्तिस्वरुप ऋण अनुदानलगायत सुविधा उपलव्ध गराउन उहाँले आदेश दिनुभएको हो ।