Breaking

गठबन्धनमा भागबण्डा मिल्यो, देउवा बाधक बनेपछि माओवादीको गृह गुम्दै, रविले पाएनन् ठाउँ


काठमाडौँ — चैत १० भित्रै सरकार विस्तार गर्ने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोटामोटी सहमति जुटाएका छन् । काँग्रेस सभापति देउवासँग संख्याको सहमति भएपनि कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा गठबन्धन अलमलमै छ । चैत ६ मा विश्वासको मत जितेपछि संसद भवनबाहिर खुशीको सञ्चार गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारकर्मीसँग भनेका थिए, ‘चैत १० भित्रै सरकार विस्तारको काम सकिन्छ ।’ चैत ६ मा चारदिनको भाका दिएको समय सकियो । तर प्रधानमन्त्रीले मन्त्री दिएनन् ।

प्रधानमन्त्री प्रचण्ड आफ्नै भाकामा असफल हुनुको कारण भने, गठबन्धनबीच नमिलेको भागबण्डा हो । तर अब संख्यामा मोटामोटी भागबण्डा टुंगिएको छ । प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भएको सहमति अनुसार काँग्रेसले आठ मन्त्रालय पाउने भएको छ । त्यसमध्ये गृह र अर्थ दुवै आफैले राख्ने अडान काँग्रेसले लिएको छ । काँग्रेसको यो अडानपछि गृहमा शक्तिबहादुर बस्नेतलाई पठाउने तयारी गरेका प्रचण्डको चाहनामाथि चुकुलबन्द भएको छ । अब जिम्मेवारी हेरफेर भएपनि माओवादीले प्रधानमन्त्रीसहित मात्र पाँच मन्त्रालय पाउने छ ।

सरकारमा सहभागि हुँदै गरेको तेस्रो ठूलो दल रास्वपाले तीन मन्त्रालय पाउने सहमति बनेको छ । यसो हुँदा ‘ड्यामेज कन्ट्रोल’कै लागि भएपनि पुरानै मन्त्रीहरुलाई सरकारमा दोहो¥याउने नीति रास्वपाले लिएको छ । तर बैशाख १० को उपनिर्वाचनमा होमिएका सभापति रवि लामिछाने भने सरकारमा सहभागि हुने छैनन् । नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने समझदारी बनेको छ । तर गठबन्धनभित्र रोज्ने पालो आफ्नो भएकाले गृहसहित तीन मन्त्रालय आफुले पाउनुपर्ने दाबी समाजवादीले छोडेको छैन । जसपा दुई, नागरिक उन्मुक्ति पार्टीले १, जनमत पार्टीले १ र लोसपाले १ मन्त्रालय पाउने छन् । बाबुराम भट्टराई नेतृत्वको नेसपाले १ र प्रभु साह नेतृत्वको आम जनता पार्टीले १ मन्त्रालय पाउने छ ।

भागबण्डाको संख्या टुंगिएपनि कसले कुन मन्त्रालय पाउने गठबन्धनभित्र टुंगिएको छैन । त्यसमा पनि तीन दलको आँखा गृह र अर्थमै पार्नु र काँग्रेसले दाबी नछोड्नुले समस्या झनै जटिल बनेको छ । किनकि गृह र अर्थ आफैले राखेर उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सरकारमा सहभागि हुन खोजिरहेका छन् । मन्त्री खान्न भनेका उनीहरु उपप्रधानसहित सरकारमा नेतृत्व गर्न पाए सहभागि हुन तयार भएपछि काँग्रेसभित्रै व्यवस्थापन सहज छैन । पहिलोपटक सिटौला समूहबाट स्वास्थ्यमन्त्री बन्दा पनि गगनले सुरुमा मन्त्री नबन्ने बताएका थिए ।

उनी मन्त्री नबन्ने भएपछि भीमसेनदास प्रधानलाई सरकारमा पठाउने तयारी थियो । तर पछि गगन नै सरकारमा जान तयार भएपछि प्रधानको भाग खोसिएको थियो । अहिले पनि प्रचण्ड सरकारको आवाज ठूलो बनाएर भिड्न सक्ने पात्रकै खोजीमा छन् । यसअघि सरकारमा जाने वित्तिकै प्रचण्ड सफल बनाउनु आफ्नो उद्देश्य भएको बताउने लिङ्देन र प्रचण्ड भएमात्रै निकास निस्किन्छ भन्ने हुंकार लगाएका रवि गुमाएपछि उस्तै उम्दा पात्रको खोजी प्रधानमन्त्री छन् ।