Breaking

कोशीनामकरणको विरोध आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ्ग’को मृत्यु


काठमाडौँ – कोशी प्रदेश नामकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ्ग’ को उपचारको क्रममा मृत्यु भएको छ । विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्न जानेक्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए । टाउकोमा चोट लागेका लाजेहाङलाई बुधबार राति बान्ता गरेपछि बेहोस अवस्थामा उपचारार्थ बीपी पुर्‍याइएको थियो ।

गम्भीर घाइते धरान-१५ का पदमको शुक्रबार बिहान २:३० बजे उपचारको क्रममा मृत्यु भएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ । घटनाको जिम्मा प्रदेश १ का ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की, प्रधानमन्त्री प्रचण्ड एवं नेपाल प्रहरीले लिनुपर्ने भन्दै समितिले विज्ञप्तिमार्फत लिम्बूको पदमको हत्या भएको र अनुसन्धान गर्न छानबिन आयोग गठनको माग गरेको छ । उनलाई शहीद घोषणा गर्नुपर्ने पनि माग राखिएको छ ।

बीपी प्रतिष्ठानको आईसीयूमा उपचाररत् पदमलाई थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लैजाने तयारी गरिरहेको बेला मृत्यु भएको समितिले जनाएको छ । धरान-१५ मा बसोबास गर्दै आएका लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए । उनी २०५२ देखि लिम्बुवान आन्दोलनमा थिए । लाजेहाङको शव अहिले बीपी प्रतिष्ठानको शवगृहमा राखिएको छ ।