काठमाडौँ — सत्ता समिकरणको सकसका कारण अन्यौलपुर्ण बनेको प्रधानमन्त्री प्रचण्डको वैदेशिक यात्रा चासोमा छ । सरकार गठनको साढे दुई महिनामै दुई–दुई पटक सदनको विश्वास जितेका प्रधानमन्त्री प्रचण्डको ध्यान अब विदेशी कुटनीतितर्फ केन्द्रित छ । प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमणको अनुकुलता के हुनसक्छ ? प्रधानमन्त्री बन्न चुनावी गठबन्धन भत्काएर एमालेसँग गठबन्धन गर्दै तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका प्रचण्ड राष्ट्रपतिको चुनावबाट पुरानै गठबन्धनमा फर्किए । एकाएक एमालेलाई धोका दिएर सत्ता समिकरण बदले पनि दश दलिय गठबन्धनको बलमा दोस्रो पटक प्रधानमन्त्रीमा सदनको विश्वास प्राप्त गरे ।
प्रधानमन्त्री भएको साढे दुई महिना वित्दा पनि सत्ता समिकरण र आन्तरिक राजनीतिक दाउपेचमा अल्झिएका प्रधानमन्त्री प्रचण्डले सोमवार सदनमा पुन विश्वासको मत प्राप्त गरेपछि तत्कालका लागि सत्ता संकट टरेको छ । र राजनीति स्थिरतातर्फ अघि बढेको देखिन्छ । त्यसैले प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा आफनो जिम्मेवारीलाई स्वतन्त्रपूर्वक अघि बढाउने तयारीमा छन् । प्रधानमन्त्रीको अबको प्राथमिकता वैदेशिक कुटनीतिलाई मजबुत बनाउनेतर्फ अघि बढेको छ । सामान्यतया प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण छिमेकी राष्ट्र भारतबाटै हुने गरेको विगत छ । प्रधानमन्त्री प्रचण्डले पनि तेस्रो कार्यकालको वैदेशिक यात्रा छिमेकी मुलुक भारतबाट नै सुरु गर्ने तयारी गरेका छन् ।
गत फागुन एक गते अकस्मात नेपाल ओर्लिएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग औपचारिक र गुपचुप गोप्य वार्ता गर्न भ्याएका प्रचण्डको पहिलो विदेश यात्रा भारत नै हुने संकेत देखिन्छ । राजनीतिक अस्थिरताकाबीच छिमेकी भारतलाई रिझाउने प्रचण्डको प्रयत्न रहेको भन्दै भर्खरै प्रतिपक्ष बनेका विपक्षी नेता केपी ओलीले कटाक्ष गरेका छन् र प्रधानमन्त्रीको विदेश भ्रमण सुरु नहुँदै विदेश मामिला र छिमेक सम्बन्धमा प्रधानमन्त्री प्रचण्ड प्रश्नको घेरावन्दीमा पर्न थालिसकेका छन ।
पहिलो पटक प्रधानमन्त्री बनेपछि बेइजिङ ओलम्पिकको समापन समारोहमा भाग लिन प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा पहिलो विदेश यात्रा चीनबाट गरेका थिए । तर भारत रिसाएको अनुभूति भएपछि प्रचण्डले आफ्नो औपचारिक भ्रमण भारतबाटै हुने अभिव्यक्ति दिएर त्यसबेला आफूलाई बचाएका थिए । उनले दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि पहिलो भ्रमण भारत नै रोजेका थिए । तेस्रो पटक प्रधानमन्त्री बनेपछि पनि बोआओ सम्मेलनमा भाग लिन चीन जाने कार्यक्रम नै रद्ध गरेर भारत भ्रमणको तयारीमा जुटेको देखिन्छ ।
निम्तो आइसकेको चीनको भ्रमण छाडेर प्रचण्डको भारत ताकेता चासोमा छ । तथापी विदेश भ्रमण र वैदेशिक सम्बन्ध सुधारका लागि कहाँबाट भ्रमण सुरु ग¥यो त्यो अर्थ नराख्ने कतिपयको विश्लेषण छ । उच्चस्तरीय वैदेशिक यात्रा कसैलाई रिझाउन भन्दा पनि मुलुकको आवश्यकताले प्राथमिकता पाउनु पर्दछ । तथापी राजनीतिक दल र नेतृत्वले आन्तरिक राजनीतिमा समेत वैदेशिक हस्तक्षेपलाई खुलेआम आमन्त्रण गर्दै आएको छ । सार्वभौम सत्ता सम्पन्न देशको कार्यकारी प्रधानमन्त्री कुनै देशलाई रिसाउन र रिझाउन नभई राष्ट्रिय हित अनुकूल उपयोग हुन जरुरी छ ।


प्रतिक्रिया