Breaking

शक्तिराष्ट्रहरूले एक्लो बनाइरहेको अवस्थामा राष्ट्रपति सी रुसमा, हतियार बेच्न पुगेको आरोप


काठमााडौँ — चीनका राष्ट्रपति सी जिनफिङले रूस पुगेर युद्ध अन्त्यको लागि प्रस्ताव राखेका छन् । रूस–युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको जनाएका छन् । दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको छ । रूसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा शक्तिराष्ट्रहरूले रूसलाई एक्लो बनाइरहेको अवस्थामा सी त्यहाँ पुगेका हुन् । उनको रूसमा तीनदिने भ्रमण रहेको छ ।

चीनको प्रस्तावपछि रूसका राष्ट्रपति भ्लादिमर पुटिनले सम्झौताका लागि आफु खुला रहेको बताएका छन् । युद्ध अन्त्यका लागि सम्झौता गर्न रूस सधैँ खुला छ, पुटिनले समकक्षीलाई भनेका छन् । रूसले युक्रेनमाथि हमला गरेदेखि यता सी पहिलोपटक मस्को पुगेका हुन् । सी र पुटिनबीच सोमबार चार घण्टा वार्ता भएको छ । त्यसक्रममा रूस र चीन दुबैको स्वाधिनता र क्षेत्रीय अखण्डताको रक्षाका सन्दर्भमा सी र पुटिनबीच विस्तृत छलफल भएको छ ।

आफ्नो भ्रमण निकै फलदायी हुने सीले बताएका थिए । मस्को प्रस्थानअघि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सीले भनेका थिए मेरो भ्रमण विश्व शान्ति तथा रूस र चीनबीच रणनीतिक साझेदारीका नयाँ आयाममा निकै फलदायी हुनेछ भन्नेमा म विश्वस्त छु । सीको भ्रमणप्रति पश्चिमा शक्तिराष्ट्रहरू भने सशंकित छन् । सी मस्कोलाई हतियार बेच्नका लागि त्यहाँ पुगेको अमेरिकाले आरोप लगाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले यो भ्रमण सीको चालबाजी रहेको बताएका छन् । यो युद्ध रूसले चाहेको दिन अन्त्य हुनेछ । रूस तयार नहुँदासम्म कसैको आग्रहमा केही हुनेवाला छैन । जबसम्म रूसले युद्ध जारी राख्छ त्यसबेलासम्म हामी युक्रेनलाई साथ गरिरहनेछौँ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनेले भनेका छन् । युद्ध अन्त्यका लागि रचनात्मक भूमिका निर्वाह गर्ने उद्धेश्यले सी त्यहाँ पुगेका थिए ।

सीको भ्रमणको पूर्वसन्ध्यामा पुटिन आफ्नो नियन्त्रणमा रहेको युक्रेनी भुमी मारियोपोल पुगेका थिए । सोमबार नै युक्रेनले आफ्नो भूमीबाट रूसी सेना हटाउन रूसलाई भनेको थियो । सीको भ्रमणबारे युक्रेन भने आशावादी देखिएको छ ।