समाचार

कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, आहार दिन सुरू


काठमाडौँ – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।

उनलाई सामान्य आहार दिन सुरू गरिएको छ। बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी घाइते भएका थिए। सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि भारत लगिएको थियो। फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ।

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको र सामान्य आहार दिन थालिएको चिकित्सकहरूलाई उद्धृत गर्दै दाजु मीनप्रसाद भण्डारीले बताए।

‘स्वास्थ्यमा सुधार भइरहेको, कलमी गरेको छालाले पनि राम्रो प्रतिक्रिया दिएको र अनुहारको छाला राम्रो हुँदै गएको डाक्टरहरूले जानकारी दिनुभएको छ,’ उनले भने, ‘फिजियोथेरापी जारी राखिएको छ।’

सांसद भण्डारीको जलन भएका ठाउँका छाला पनि राम्रो हुँदै गएकोले तत्काल शल्यक्रिया गर्नुनपर्ने चिकित्सकहरूले बताएका छन्। सांसद भण्डारी अरूको सहयोगबिना केही समय बस्न सक्छन्। केही दिनमा उनलाई हिँड्नका लागि प्रयास गराइने पनि चिकित्सकहरूको तयारी छ।

खाना पकाउने ग्यास लिक हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा गत फागुन ४ गते निधन भएको थियो। सांसद भण्डारीको उपचारमा सरकारले सहयोग गर्ने बताएको छ।