Breaking

उपनिर्वाचनमा ठूलो आवाजमा घण्टी बजाउने रविको तयारी,सांसदका लागि जसपाको बार्गेनिङ


काठमााडौँ — संविधानले नै व्यवस्था गरेको प्रतिनिधिसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि दलहरु मैदानमा होमिइसकेका छन् । कानुनी अक्षरको साहारा लिँदै उपनिर्वाचनमा हुने फजुल खर्च त छ नै साथै पद लोलुप्ताले नागरिकको मतको पनि अवमूल्यन गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेव्यवस्था उल्लेख गरिएको छ। सोही व्यवस्था बमोजिम प्रतिनिधिसभामा रिक्त भएको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने निश्चित भएको छ ।

चितवन २ मा त निर्वाचन आयोगले वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति नै तय गरिसकेको छ । त्यस्तै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र तनहुँ १ र उपराष्ट्रपति रामसहाय प्रसाद यादवको निर्वाचन क्षेत्र बारा १ मा पनि वैशाख १० मा नै उपनिर्वाचन गर्न निर्वाचन आयोगले आन्तरिक तयारी थालिसकेको छ । तनहुँ, बारा र चितवनका तीन निर्वाचन क्षेत्रमध्ये चितवन २ मा वैशाख १० मा हुने चुनावमा दलहरु होमिइसकेका छन् । त्यहाँ दल दर्तादेखि निर्वाचन आयोगको सबै कार्यतालिका समेत सार्वजनिक भइसकेको छ ।

चैत २० गते मनोनयन दर्ता, २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरि निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ । यस्तै २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। यसअघि चितवन २ का मतदाताले अत्याधिक मतले विजयी गराएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विभिन्न चुनौतीको सामना गर्दै आएको र यसपटक ठुलै आवाजमा घण्टी बजाउने तयारीमा जुटिसकेका छन् ।

त्यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन क्षेत्र तनहु र बारामा पनि उपनिर्वाचन हुने निश्चित छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफै चुनाव लड्नका लागि उपराष्ट्रपतिको बार्गेनिङ गरेको कुरा सबैमा जगजायर नै छ । उपराष्ट्रपतिमा जसपाका नेता निर्वाचित भइसकेपछि पार्टी अध्यक्ष यादवलाई पुनः सदन छिर्ने ढोका खुला भएको हो । त्यस्तै कांग्रेस पनि उपनिर्वाचनको तयारीमा आफ्नै निर्वाचन क्षेत्रका लागि काम गर्छु भनेर जनताको घरदैलो गर्दै भोट माग्न पुगेकाहरु अहिले पदको मोहमा लाग्दा निर्वाचन अघि मतदातालाई गरेका ती सबै वाचाको अवमूल्यन भएको छ ।

राष्ट्रपति उपराष्ट्रपति बन्न सांसदहरुले जनतालाई गुमराहमा पारे । राष्ट्रपति र उपराष्ट्रपति पाउनु उक्त निर्वाचन क्षेत्रका लागि गर्वको विषय त होला तर, सांसदहरु राष्ट्रपति उपराष्ट्रपति बन्दा उपनिर्वाचनमा लाग्ने आर्थिक भार देशले खेप्नुपर्ने छ । देश चरम आर्थिक संकटको मार्गमा उन्मुख भइरहेको अवस्थामा यस्ता फजुल खर्चले राज्यको सम्पत्ति हिनामिना भइरहेको छ ।