Breaking

युएईमाथि नेपालको रामधुलाई, विश्वकप छनोटमा नेपालको ढोका खुल्यो


काठमााडौँ — आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय खेल मैदानमा करिब १५ हजार दर्शकका वीचमा यूएईसँग भएको एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले जित हासिल गरेको छ । ब्याडलाइटका कारण डिएल नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।

कुशल भुर्तेल, भीम सार्की, आरिफ सेख, र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको विशाल लक्ष्य दिएको थियो । यसअघि लिग २ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो । त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारे । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौकासहित उक्त योगफल तयार गरेका हुन् ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए ।

आजको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्वको हो । आजको खेल जितेसंगै नेपाले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउने भएको छ । पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ । नेपाल र युएईवीचको खेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि विभिन्न पार्टीका नेताहरु खेल मैदानमै पुगेर खेलाडीलाई हौसला प्रदान गरेका थिए ।