Breaking

सत्ता स्वार्थमा मधेसवादी दल, उपराष्ट्रपतिमा दाउपेच खेल्दै जसपा र जनमत !


काठमााडौँ — २०६३ सालपछि मधेसमा राजनीतिक शक्ति आर्जन गरेका मधेसवादी दलहरू आन्तरिक खिचातानीका कारण पटक—पटक फुट्ने गरेका छन् । अरु बेला मिले पनि निर्वाचनको बेला मधेस केन्द्रित दलहरू विभाजित हुँदै आएका छन् । विभाजित मानसिकता उपराष्ट्रपति निर्वाचनमा पनि देखिएको छ । राष्ट्रपति निर्वाचनमा आठदलीय समिकरण बनेसँगै मधेसका सबै दल एउटै गठबन्धनमा आवद्ध भए । एकजुट भएर राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराए । आठदलीय गठबन्धनमा उपराष्ट्रपति पद जसपाको भागमा प¥यो । तर, मधेसका दलहरू विभाजित देखिए । जसपालाई उपराष्ट्रपति दिन जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी सहमत भएनन् ।

गठबन्धनबाटै दुई दलको तर्फबाट तीन जनाको उम्मेदवारी प¥यो । जसपाको दुई उम्मेदवारी भने रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज भयो भने पार्टीबाटै प्रमिला कुमारीलाई उपराष्ट्रपति बनाउने रणनीति अन्तर्गत थियो । यसअर्थमा सत्तारुढ गठबन्धनबाट दुई उम्मेदवार र एमाले उम्मेदवार गरी तीन जना उपराष्ट्रपति निर्वाचनमा भिड्दैछन् । एउटै गठबन्धनमा रहेर पनि उपराष्ट्रपतिमा मधेसका दलहरुले सहमति गर्न सकेका छैनन् ।

हाल संघीय संसदमा जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व छ । जसपाका उम्मेदवारविरुद्ध जनमत, लोसपा र नागरिक उन्मुक्तिले कार्यगत एकता नै गरेका छन् । मधेसको मुख्य शक्ति जसपालाई मधेस केन्द्रित दलहरूले एक्ल्याउन खोजेका छन् । मधेसी नेताहरूले प्रमुख दलहरूसँग मधेसको मुद्दालाई सत्तासँग साट्ने गरेको आरोप लगाउँदै आएका मधेस राजनीतिमा नयाँ खेलाडीको रूपमा उदाएका सीके राउत नेतृत्वको जनमत पार्टी पनि आफ्नै आरोपबाट उन्कन सकेको छैन ।

अवसर आउँदा विभाजित हुने मधेस केन्द्रित दलको राजनीति नौलो होइन । यसअघि पनि मधेस केन्द्रित दलहरू पटक–पटक विभाजित भएका छन् । २०६३ सालमा अन्तरिम संविधान जारी हुँदा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा मधेस आन्दोलन भएपछि क्षेत्रीय राजनीति हाबी भएको थियो । २०६४ सालमा यादवकै अध्यक्षतामा मधेसी जनअधिकार फोरम नेपाल निर्वाचन आयोगमा दर्ता भयो । कांग्रेस, एमाले लगायतका दलका नेताहरु समेत मधेस केन्द्रित दलमा आवद्ध हुन पुगे । तर, सत्ताका लागि मधेस केन्द्रित दलहरु विभाजित बन्ने स्थिति आयो ।

शक्ति गुमाउने स्थितिमा मिल्ने र सत्ताको अवसरका लागि विभाजित हुने संस्कार नै बसेको छ । अहिले मधेसमा मुद्दा विर्सजन भएको अवस्था रहेको र नेताहरू आ—आफ्नो व्यवस्थापनमा केन्द्रित देखिएको विश्लेषण हुन थालेको छ । मधेसको मुद्दा स्थापित गर्नका लागि भएका आन्दोलनमा धेरैले ज्यान गुमाए । थुपै्र घाइते भए । तर, त्यो पीडा नेताहरूले भुल्दै गएका छन् । र, सीमित सत्ता स्वार्थमा अल्झिएका छन् ।

मधेसी जनअधिकार फोरम विभाजित गरेर विजयकुमार गच्छदारले सत्ताकै लागि फोरम लोकतान्त्रिक गठन गरेका थिए । त्यसपछि जेपी गुप्ताले फोरम गणतान्त्रिक नामको पार्टी खडा गरेका थिए । कांग्रेस– एमाले लगायतका दल परित्याग गरेर महन्थ ठाकुरको नेतृत्वमा केही नेताले तमलोपा गठन गरेका थिए । त्यो पार्टी पनि एकतावद्ध हुन सकेन । तितरवितर अवस्थामा रहेका मधेसका दलहरू अघिल्लो निर्वाचनपछि एक भइ जनता समाजवादी पार्टी गठन गरेका थिए ।

त्यो पार्टी पनि लामो समयसम्म संग्लो रहन सकेन । महन्थ ठाकुरले लोसपा गठन गरेर अघि बढे । पछिल्लो पटक आठ दलीय समिकरणले मधेसका शक्तिलाई एउटै गठबन्धनमा ल्याइदिए पनि उपराष्ट्रपति निर्वाचनमा फरक–फरक कित्तामा पुगेका छन् ।