Breaking

बागलुङको बान्द्रेगाउँमा खानेपानीको हाहाकार, बसाइँ सर्दै स्थानीय


काठमाडौँ – सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ ।

गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेकाहरु धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै । पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन् ।

पानी नहुँदा विद्यालयका शौचालय ढुङ्डुङ्ती गन्हाएका छन् । बागलुङ नगरपालिका–५ स्थित बान्द्रे गाउँमा सहज खानेपानीको पहुँच नहुँदा स्थानीयसँगै यहाँको कृष्ण आधारभूत विद्यालयका विद्यार्थीले धित मर्ने गरी पानी पिउन पाएका छैनन् ।

दशकौँ अगाडि निर्माण भएको योजनाबाटै स्थानीयले खानेपानी उपभोग गर्दै आएका छन् । बिहान र बेलुका गरी दुई समय धारामा पानी आउँछ । थोरै समय आउने पानीले स्थानीयको गाग्री भरिँदैन । विद्यालयको ड्रम भरिंदैन ।

स्थानीयले यो समस्या सरोकारवाला निकायलाई पटक-पटक सुनाउँदै आएका छन् । खानेपानीको समस्या सम्बन्धित निकायलाई सुनाउँदा सुनाउँदै दिक्क भएका उनीहरू अहिले यो विषयमा बोल्नै चाहँदैनन् ।

खानेपानीको चरम अभावका कारण गाउँ छाडेर जानेको सङ्ख्या बढ्दै गएको स्थानीय बताउँछन् । पानीको आपूर्ति नहुँदा दैनिकी कष्टकर बन्दै गएको स्थानीय पार्वती शर्माले गुनासो गरिन् ।

‘घर नजिकै विद्यालय छ, विद्यार्थी तिर्खाएर आउँदा उनीहरूलाई पानी दिन नसक्दा दुःख लाग्छ’, शर्माले भनिन्, ‘खेतीयोग्य जमिन भए पनि पानी अभावले तरकारी खेती र पशु चौपायालाई खुवाउन सकस छ ।’ मुहान नजिक नहुँदा र सरकारले स्थानीयका समस्यामा ध्यान नदिँदा खानेपानीको समस्या वर्षौँदेखि यथावत छ । खानेपानीको सहज उपलब्धता नभएपछि धेरै परिवारले बान्द्रे गाउँ छाडिसके ।

करिब चार दशक अगाडि धुरखोलाबाट ल्याएको पानी अहिलेसम्म व्यवस्थित गर्न नसक्दा समस्या भएको स्थानीय ७० वर्षीय प्रेम शर्मा सापकोटाले बताए । गाउँका झण्डै ३५ परिवारले खानेपानीको समस्या भोग्दै आएका छन् ।

धारामा साँझ बिहान दुई समय खानेपानी आए पनि विद्यार्थीका लागि पर्याप्त नहुने कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताए । पानी भर्नका लागि बिहान छिट्टै विद्यालय आउने र साँझ अबेरसम्म बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

बागलुङ नगरपालिका-५ का वडाध्यक्ष हरिप्रसाद शर्माले खानेपानी समस्या समाधानका लागि योजना अन्तिम चरणमा पुगेको बताए । विसं २०७२ देखि ‘मालिका खानेपानी तथा सरसफाइ आयोजान’ सञ्चालन भए पनि बजेट अभावमा सम्पन्न हुन सकेको छैन । ‘उपभोक्त समितिमार्फत ट्याङ्की निर्माण भएको छ, पाइप लाइन खन्न बाँकी छ,’ शर्माले भने ।