काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग टूको पछिल्लो १० खेलमा ९ जित निकालेको नेपालले एकदिवसीय मान्यता सुरक्षित गरेको छ ।
नेपालले सोमबार पीएनजी र अर्काे बिहीबार पुनः यूएईसँग खेल्नेछ । दुवै खेल जितेको अवस्थामा नेपाल शीर्ष तीनमा रहेर एकदिवसीय विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्नेछ । सो प्रतियोगिता आगामी जुलाइमा जिम्बावेमा हुँदैछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको उम्दा खेल यसअघि सिरिजका चारवटै खेल जितेर ‘क्लिन स्वीप’ गरेपछि देखिएको थियो । झन लिग टूका १० मध्ये ९ खेल नै आफ्नो पक्षमा राख्नेगरी जित निकालेपछि आठौं आश्चार्य त होइन, तर नेपालीहरुमा अनौठो सफलता दिलाएको छ । किनकि त्रिवि क्रिकेट मैदानमा आइतबार नेपालले अर्काे खुशी दियो । सुरुदेखि नै दबाबमा राख्दै आएको युएईलाई सबैभन्दा कमजोर योगफलमा पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडीआई) जोगाएर नेपालले विश्वकप यात्रालाई बलियो बनाएको छ । अब लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि बलियो बनेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको खेल नेपाल र यूएई दुबैका लागि गर या मरको अवस्था थियो । टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारीलाई बलियोसँग निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गर्यो । जसमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७७ रन बनाएर ‘प्लेयर अफ दी म्याच’ बने । २४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । यूएई २२.५ ओभरमा ७१ रनमै अलआउट भयो र नेपाल १७७ रनले विजयी भएको छ । रन अन्तरका हिसाबले ओडीआईमा यो नेपालको अहिलेसम्मकै फराकिलो जित हो । यसअघि २०२१ को सेप्टेम्बरमा पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।
यूएईविरुद्धको खेलमा यो शृंखलामा पहिलो खेल खेलेका ललित राजवंशीको नेतृत्वमा नेपाली बलरले शानदार प्रदर्शन गरे । राजवंशीले ७.५ ओभरमा २ मेडन राख्दै ५ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले किफायती बलिङ गर्दै ५ ओभरमा ३ मेडन राख्दै जम्मा ६ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र गुलशन झाले समान १ विकेट लिए । ब्याटिङ पूरै ५० ओभर टिक्न सकेन । कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए । ११२ बल खेलेका उनले ९ चौका हाने । आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे । दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रन जोडे । ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरमा आउट भए । यसअघि पीएनजीविरुद्ध शेखले शानदार शतक हानेर नेपाललाई जिताएका थिए ।
लिग टूमा यूएई र पपुवा न्युगिनी पुछारको दुई स्थानमा रहने निश्चित भएको छ । यसले यूएईको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता धरापमा पारेको छ । यूएईले बाँकी दुवै खेल जितेको अवस्थामा पनि लिग टूको शीर्ष पाँचभित्र पर्ने छैन । तर यूएई र पपुवा न्युगिनीका लागि एकदिवशीय मान्यता जोगाउन अब एकमात्र अन्तिम विकल्प हुनेछ । यही मार्चको अन्तिमतिर नामिवियामा एकदिवसीय विश्वकप ग्लोवल क्वालिफायर प्लेअफ हुनेछ । त्यो लिग टूका पुछारका चार र क्यानडा तथा जर्सीबीच हुने प्रतियोगिताको शीर्ष दुईमा रहन सके एकदिवसीय मान्यता अर्काे चार वर्षका लागि जोगिनेछ । तर नेपाल बाँकी दुई खेल पनि जितेर विश्वकपमा पुग्ने सहज यात्रामा छ । जेहोस्, आइतबार नेपाली क्रिकेटले राजनीतिमा वाक्क बनेका नेपालीहरुमा खुशीको सञ्चार गराएको छ ।
प्रतिक्रिया