Breaking

जुगल हिमालको फेदमा किशोरीलाई पर्वतारोहण तालिम


काठमाडौँ – सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर १०६ जना किशोरीले स्थानीय पर्वतारोहणसम्बन्धी तालिम लिएका छन् ।

विश्व समावेशी साहसी संस्था जिआइएको आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको थियो । किशोरीलाई जुगल गाउँपालिकाको तीनदिने यात्राका क्रममा जिल्लाभरको इतिहास, भूगोल र धर्मसंस्कृतिबारे जानकारी दिइएको थियो ।

स्थानीयस्तरमा पर्वतारोहणको कला सिकाइ पर्यटन प्रवद्र्धनको विकासका लागि सहयोग पुग्ने जुगल गाउँपालिका पर्यटन समिति संयोजक मिलन तामाङले जानकारी दिए । तालिमपछि मात्र नतिजा आउने उनको भनाइ छ ।

सहभागीमध्ये ३५ जनालाई माउन्टेन गाइडका रुपमा तयार गरिने तामाङले बताए । पाँचजना अन्तर्राष्ट्रिय पर्वतारोही प्रशिक्षकद्वारा पर्वतारोहीले पर्वतारोहणसम्बन्धी सम्पूर्ण तालिमअन्तर्गत ट्रेकिङ म्याप, प्राथमिक उपचार तालिम, हिमाल चढ्न आवश्यक सामग्री र तयारीबारे सिकाइएको थियो । ११ जना प्रशिक्षकले उनीहरुलाई तालिम प्रदान गरेका थिए ।