खेलकुद

खिजिदेम्बा अल्ट्रा म्याराथनको उपाधि सुमन र सुनमायालाई


काठमाडौँ — खिजिदेम्बा अल्ट्रा म्याराथन’ को चौथो संस्करण सोलुखुम्बुका सुमन कुलुङ र जुम्लाकी सुनमाया बुढाले जितेका छन् । बिहीबार खिजिदेम्बा गाउँपालिका ५ मा सम्पन्न म्याराथनको उपाधि कुलुङ र बुढाले हात पारेका हुन् । राष्ट्रिय पुरुष विधा’ तर्फ सुमन कुलुङले निर्धारित ४२ किलोमिटर दुरी तीन घण्टा ४९ मिनेटमा पार गरे । पुरुष विधामै भोजपुरका तीर्थ तामाङ दोस्रो भए भने तीर्थले तीन घण्टा ५० मिनेट लगाए । सोलुखुम्बुका अर्जुन कुलुङ तेस्रो भए । उनले उक्त दूरी पार गर्न तीन घण्टा ५५ मिनेट लगाए । बैतडीका मोहनदेव जोशीले निर्धारित दूरी कटाउन चार घण्टा आठ मिनेट लगाउँदै चौथो भए ।

राष्ट्रिय महिला विधा’ तर्फ सुनमायाले चार घण्टा ४१ मिनेटमा निर्धारित दूरी पार गरिन् । जुम्लाकै मन्जु रावतले पाँच घण्टा ११ मिनेट दोस्रो, खोटाङकी प्रिया राईले ५ घण्टा ११ मिनेट ३ सेकेन्ड लगाएर तेस्रो र ५ घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै सिन्धुपाल्चोककी नितु तामाङ चौथो भइन् । ‘स्थानीय पुरुष विधा’ तर्फ मानेभन्ज्याङ गाउँपालिकाका कृति राई प्रथम भए । खिजिदेम्बाका रवीन्द्र तामाङ दोस्रो भए । खिजिदेम्बाकै देवराज सुनुवार तेस्रो भए । ‘स्थानीय महिला विधा’ तर्फ खिजिदेम्बाकी पदमकुमारी सुनुवार प्रथम भइन् । हिरुमाया भुजेल दोस्रो भइन् भने अनिता सुनुवार तेस्रो भइन् ।

खिजिदेम्बा गाउँपालिका ५ खिजिफलाँटेबाट सुरु भएको अल्ट्रा ट्रेल म्याराथन थोले देम्बा, ताक्लुङ, लाम्जे, भुलभुले हुँदै पुनः खिजिफलाँटेमै आएर टुंगिएको हो । समुद्री सतहदेखि २ हजार २ सय मिटर उचाईबाट सुरु भएको म्याराथन ३ हजार ६ सय मिटरको उचाई पार गर्दै सुरुको बिन्दुमा आएर टुंगिएको हो । विजेताहरूले राष्ट्रिय विधातर्फ क्रमशः ७०, ६०, ५० र २५ हजार नगद प्राप्त गरे भने स्थानीय विधातर्फ क्रमशः २०, १५ र १० हजार नगद पाए । म्याराथनमा जम्मा ५८ प्रतिस्पर्धी सहभागी थिए ।