Breaking

चितवन–२ को उपनिर्वाचनका लागि १८ दल दर्ता


काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आगामी वैशाख २ गते हुने उपनिर्वाचनका लागि आयोगले यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ताको समय तोकेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक हप्ताको समयसीमा १८ दल दर्ता भएको जानकारी दिए ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दल दर्ता गरेका छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) , राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, नेपाली कांग्रेस ९बीपी० मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति, नेकपा माओवादी समाजवादी, पुनर्जागरण पार्टी, मौलिक जरोकिलो, राष्ट्रिय मुक्ति आन्दोलन र जय जनमुक्ति पार्टीले पनि दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रास्वपाका सभापति रवि लामिछाने प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर गत माघ १३ गते रविको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएको हो । १५ माघमा उनले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।

६ महिनाभन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था अनुसार आगामी वैशाख २ गते चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगको तालिका अनुसार आगामी चैत २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।