Breaking

चर्को शुल्क असुल्ने फर्मलाई प्रशासन प्रवेशमा रोक


काठमाडौँ — जिल्ला प्रशासन कार्यालय सुनसरीले लेखापढीका नाममा सर्वसाधारण ठग्ने क्रमलाई नियन्त्रण गर्न अत्यावश्यक काम बोहक कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । सेवा सहजीकरणका नाममा विभिन्न फर्म आवद्ध व्यक्तिले सेवाग्राहीबाट चर्को शुल्क असुल्ने गरेको भेटिएको भन्दै त्यस्ता व्यक्तिको हकमा अत्यावश्यक काम बाहेक कार्यालय प्रवेशमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरी प्रशासनका अनुसार कार्यालय बाहिर खुलेका फर्म र सो आवद्ध व्यक्तिहरुले सर्वसाधारबाट चर्को शुल्क असुलेर ठगी गरेको पाइएकाले सेवाग्राहीको हीतकालागि उक्त निर्णय लिइएको जनाएको छ ।

लेखापढी आवद्ध फर्मले सर्वसाधारणबाट फोटोकपीदेखि निवेदन, लिखित, हुलाक टिकट र अनलाइन फारमबापत चर्को शुल्क लिने गरेको प्रशासनको भनाई छ । सुनसरी प्रशासनले सरल र सहज सेवा प्रवाहकालागि कार्यालय भित्रैबाट निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको समेत जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निःशुल्क उपलब्ध रहने सबै सेवा सोझै कार्यालयमा स्थापना गरिएको हेल्प डेस्कबाट प्रदान हुने बताउनु भयो ।

जसका लागि कुनै फर्म वा कसैको सहजीकरण आवश्यक नपर्ने पाण्डेको भनाई छ । उहाँले जिल्ला प्रशासनबाट दिनसक्ने सेवा जिल्ला प्रशासनबाट नै दिनका लागि र बाहिर भइरहेको अनियमितता रोक्नका लागि काम थालेको बताउनु भयो । यता प्रशासनको कडाई पश्चात लेखापढी व्यवसायीले भने आफूहरुको रोजिरोटी खोसिएको भन्दै सो कदमको बिरोध गरेका छन् । उनीहरुले निश्चित शुल्क लिएर आफूहरुले काम गर्न पाउनुपर्ने माग राखेका छन् ।