Breaking

शेर्पा सञ्चारले आयोजना गरेको ७ दिने उद्घोषण तालिम सम्पन्न

'शेर्पा समुदायमा पत्रकार दुर्लभ भन्दै'


काठमाडौँ – शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको सात दिने नेपाली भाषा उद्घोषण तालिम सम्पन्न भएको छ ।

सञ्चारले शुक्रबार नेपाल शेर्पा संघको भवन नारायणटारमा ग्याल्पो लोसार २१५० औँ क्ष्यू मो ह्ये लो खारायो वर्षको अवसरमा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा तालिम समापन भएको हो ।

उक्त समारोहमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको संस्थाका महासचिव डोल्मा शेर्पाले जानकारी दिनुभयो ।
सो अवसरमा संस्थाले नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष निर्वाचित गेल्जे लामा शेर्पा र नेपाल आदिवासी जनजाति महिला महासंघको अध्यक्ष निर्वाचित निमी शेर्पालाई बधाई तथा सम्मान गरेको थियो ।

यस्तै संस्थाले नेपाल प्रहरीको सहायक निरीक्षक फुरी शेर्पा र तालिमका प्रशिक्षक तथा शेर्पा समुदायका युवा लेखक तथा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रीय पूर्व महासचिव तथा अनुसन्धानकर्ता सेर्कु शेर्पा सम्मान गरिएको महासचिव डोल्मा शेर्पाले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले उद्घोषण कला आजको समयमा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले उद्घोषणकलाले मानिसको व्यक्तित्व प्रस्तुत गर्ने भएको हुँदा यो तालिम सबैको लागि र महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागू गर्नपनि सहभागीहरुलाई अनुरोध समेत गर्नु भयो । उहाँले लोसारको शुभकामना दिनुहुँदै लोसारको विषयमा विवाद भन्दापनि बहस गर्न जरुरी रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा योहो टेलिभिजनका प्रधानसम्पादक जिवराम भण्डारीले उद्घोषण तालिमले व्यक्तित्व विकासमा निखारता ल्याउने बताउनुभयो । कार्यक्रममा पुर्व पर्यटन मन्त्री कृपासुर शेर्पाले समुदायको विकासको लागि बोल्ने कलाको विकास हुनुपर्ने बताउनुभयो । उहाँले बोल्ने कलाको विकास उद्घोषण तालिम बाट प्राप्त हुने बन्नु हुँदै यस्तो तालिम सबैले लिन जरुरी रहेको बताउँदै संस्थाले गरेको कार्य समुदायको विकास र परिवर्तन लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङ काजी शेर्पाले शेर्पा समुदायमा पत्रकार नेपालको एकसिंगे गैंडा जस्तै दुर्लभ रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा लागेकाहरुलाई समुदायले प्रोत्साहन गर्न पर्ने बताउनुभयो ।

संस्थाले माघ २७ गतेदेखि फागुन ४ गतेसम्म लोसारको अवसरमा ७ दिने उद्घोषण तालिम आयोजना गरिएको हो ।

संस्थाले शेर्पा समुदायको भाषा, कला र संस्कार संस्कृतिलाई संरक्षण तथा संवद्र्धन गर्नुका साथै समुदायलाई पत्रकारिताको मुलधारमा ल्याउने उद्देश्यले विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा लाग्न चाहने व्यक्तिहरूलाई विभिन्न तालिम प्रदान गर्दै आएको संस्थाका अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । संस्थाले शेर्पा तथा नेपाली भाषामा उद्घोषण तालिम, समाचार लेखन र फोटो पत्रकारिता सम्बन्धी तालिम वार्षिक रुपमा सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष शेर्पाले बताउनुभयो ।

संस्थाले शेर्पा समुदाय रहेको जिल्लाहरूमा समेत संस्थाको शाखा विस्तार गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
संस्थाले सोलुखुम्बु, ओखुलढुङगा, खोटाङ, रामेछाप, ताप्लेजुङ र झापामा शाखा विस्तार गरि पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको संस्थाक महासचिव डोल्मा शेर्पाले बताउनुभयो ।

तालिमको सहजीकरण शेर्पा समुदायका युवा लेखक तथा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रीय पूर्व महासचिव तथा अनुसन्धानकर्ता सेर्कु शेर्पाले गर्नुभएको संस्थाले जनाएको छ ।