Breaking

टर्कीमा नेपालले आज स्वास्थ्य सामग्री र न्यानो कपडा पठाउँदै


काठमाडौँ — टर्कीका भूकम्पपीडितलाई नेपालले सोमबार स्वास्थ्य सामग्री र न्यानो कपडा पठाउने भएको छ ।

टर्की सरकारको मागअनुसार ती सामग्री पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

टर्किस एयरलाइन्सबाट सोमबार बिहान सामग्री पठाउन लागिएको हो । ती सामग्री विमानस्थलमा पु¥याएर तयारी अवस्थामा राखिएको छ । शुक्रबार नै पठाउने भनिए पनि टर्कीले क्लियरेन्स दिन समय लगाएपछि केही दिन ढिला भएको जनाएको छ ।

नेपालले टर्कीलाई औषधिहरु, स्वास्थ्य उपकरणहरु र न्यानो कपडा पठाउने तयारी गरेको छ । त्यहाँ अहिले चिसो मौसम छ भने वर्षा र हिउँ पनि परिरहेको छ । त्यहाँको मौसम माइनस १० डिग्रीसम्म झरेको छ । भूकम्पपीडितको उपचारमा आवश्यक औषधि, स्वास्थ्य उपकरण र न्यानो कपडाहरुमा ब्ल्यांकेट, ज्याकेट र ट्रयाकसुट पठाउन लागिएको हो ।

टर्की सरकारले ती सामग्री तत्काल आवश्यक रहेको भन्दै परराष्ट्र मन्त्रालयमार्फत लेखिपठाएको थियो । ती सामग्रीहरु सरकारको गोदाममा भएका र नेपाल रेडक्रसलगायत निजी क्षेत्रबाट संकलन गरेर पठाउन लागिएको हो ।