Breaking

काठमाडौँमा अमेरिकी ताकेताको रहस्य, २१ वर्षपछि मन्त्रीसरह समान्थाको दुई दिने नेपाल बसाई कस्तो रह्यो ?


काठमाडौँ — एमसीसी अनुमोदनपछि अमेरिकी उच्च अधिकारीहरुको नेपाल यात्रा निरन्तर छ । २१ वर्षपछि अमेरिकी सरकारको मन्त्री सरह मानिने (युएसएआईडी) प्रमुख सामन्था पावरले दुई दिने नेपाल भ्रमण गरी शीर्ष नेताहरुको नाडी छामेकी छिन् । मंगलवार काठमाडौ ओर्लिएकी अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (यूएसएआईडी) की प्रशासक सामन्थ पावर दुई दिने नेपाल भ्रमण सक्काएर स्वदेश फर्किएकी छिन् । संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज र मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरूलाई सुदृढ गर्न नेपालका प्रयास र उपलब्धिहरु बुझ्न नेपाल आएका उनी मंगलवार काठमाडौं ओर्लिएलगत्तै भक्तपुरको सानोठिमीस्थित आदर्श माविको अवलोकन गर्न पुगिन् ।

सो क्रममा स्कुलका विद्यार्थीहरुसँग अन्तरक्रिय गर्दै बास्केटबल खेल्न समेत भ्याइन् । साँझ परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँगै ललितपुरको पाटन दरबार स्वाक्वयर क्षेत्रको अवलोकन गरिन् । पाटन दरवार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए । मंगलवार नै (यूएसएआईडी) को तर्फबाट नेपाललाई नेपाललाई ७ अर्ब रुपैयाँभन्दा बढीको सहयोग घोषणा गर्दै चर्चामा रहेकी पावरले बुधवार ट्रेल दौड देखि उच्चस्तरीय भेटवातामा विताईन । बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरिन् ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएका हुन् । राष्ट्रिय सुरक्षा परिषद्की सदस्य समेत रहेकी पावर नेपाल भ्रमणमा अमेरिकाबाट पछिल्लो २० वर्षयताकै उच्चस्तरीय भ्रमण हो । नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिँदै निर्वाचनपछि बनेको नयाँ सरकारसँग यूएसआईडीको संलग्नता र प्रतिबद्धतालाई थप उजागर गर्नेमा जोड दिएको छ ।

भेटमा उनले अमेरिकी सहयोग परियोजना एमसीसी परियोजना कार्यन्वयनमा विशेष जोड दिएकी छिन् । समान्थाको स्वदेश फिर्ता लगत्तै अर्को अमेरिका उच्च अधिकारी नेपाल आउने तयारीमा छन । आगामी फेब्रुअरी १४ मा अमेरिकाको डेपुटी असिस्टेन्ट सेक्रेटरी अफ स्टेटका अफ्रिन अख्तरले दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने जनाएको छ । दुईपक्षीय ऐतिहासिक कुटनीतिक सम्बन्ध र उच्चस्तरको सहयोग आदान–प्रदानले नेपाल–अमेरिका सम्बन्ध विशेष र महत्वपूर्ण रहँदै आएको छ । केहि समय यता एकपछि अर्को अमेरिकी उच्च अधिकारीहरुको नेपाल आगमन र अमेरिकी सक्रियताले भने सवैको ध्यानकर्षण गराएकै छ ।