Breaking

देशव्यापी बन्दै किसान आन्दोलन, सरकार भन्छ बिचौलियालाई लखेट्छौँ


काठमाडौँ — सरकारको लाचारीपनले कृषिमा लगानी गर्न कृषक सयौं पटक सोच्न बाध्य बनेका छन् । सरकारले लगानी सुनिश्चित नगरिदिँदा उपभोक्ता र उत्पादक दुवै मारमा परेका छन् । कृषि प्रधान देश नेपालमा कृषि पेशा अपनाउन नै मुश्किल बन्दै गएको छ । एक त बीउ, मल, सिञ्चाई जस्ता कृषिका लागि आवश्यक तत्व समयमा नै पाउन समस्या छ भने, अर्का तर्फ उत्पादन पछि बजार र मुल्यको समस्याको मार खेप्नु पर्ने अवस्था छ ।

बजार र उचित मूल्य नपाएपछि चितवनका कृषकले सडकमा असरल्ल तरकारी छरेको हप्ता दिन बित्न नपाउँदै झापाका कुखुरा पालकहरु पनि यस्तै कार्य गर्न विवश बनेका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै मंगलबार किसानले अण्डा र कुखुरा सडकमै फालेर सरकारको लाचारीपनको प्रदर्शन गरे । कृषकको पीडा चितवन हुँदै झापासम्म पुग्दै गर्दा किसानको आन्दोलन झन् झन् चर्किदै गएको छ ।

हरेक नागरिकको अभिभावक बनेर कुर्सीमा बसेका मन्त्रीहरु यसबारे बेखबर त छैनन् तर, उनीहरुले यस्का लागि गरेका पनि केही छैनन् । ध्यानाकर्षण र समिति गठन जस्ता औपचारिकतामा सरकार अड्किरहँदा उत्पादक र उपाभोक्ताबीचको दुरी बढ्दै गएको छ ।

झापा, चितवनका कृषकहरु मुल्य नपाएर उत्पादक वस्तुहरु खेर फालिरहँदा राजधानी उपत्यका लगायतका अन्य ठाउँमा भने तरकारीको मुल्य छोइनसक्नु छ । उपभोक्ता भान्छा महंगीएर दुई छाक टार्न सकसमा परेका छन् । देशको कुनै एक ठाउँमा मुल्य नपाएर उत्पादननाश भइरहेको छ भने, अर्काे ठाउँमा महंगीले आकाश छोएको छ ।

उपभोक्ता महंगीको मारमा परिरहँदा किसानको खल्ती भने खाली छ । उत्पादक र उपभोक्ताबीचको अन्तर बढ्दै जाँदा बिचौलिया फस्टाउँदै गएका छन् । कृषि उत्पादनमा जोड दिएको सरकार उत्पादित वस्तुको बजारीकरण गर्न भने चुकेको छ । जसले गर्दा उत्पादित वस्तु नाश त हुँदै गएको छ नै, कृषिमा लागेका कृषक पनि निरुत्साहित बन्दै गएको छ ।