Breaking

रविलाई सरकारमा फर्काउने प्रचण्ड प्रयास, काँग्रेसको सत्तायात्रा सुरु,ओलीको बहिर्गमन–देउवाको सत्तारोहण


काठमाडौँ — गठबन्धनमा रहेको अविश्वास र विग्रहकै कारण सत्ता फेरबदलको सम्भावना बलियो बनेको छ । राष्ट्रपतिकै विषयले ओली–प्रचण्डबीच मतभिन्नता देखिएका बेला सुदूरपश्चिम प्रदेश सरकार संकटमा छ । तर प्रधानमन्त्री प्रचण्ड काँग्रेससहितका दललाई सरकारमा सहभागि गराउनेबारे कसरत चलाइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेस सत्तापक्ष भइहाल्छ कि भन्ने डरएमाले अध्यक्ष केपी शर्मा ओलीमा छ ।

झन एमालेसँग तन जोडिएका प्रधानमन्त्री प्रचण्डले मन काँग्रेसलाई दिएपछि ओली राष्ट्रपति गुम्ने शंकामा छन् ।त्यतिनै बेला प्रचण्ड काँग्रेसलाई समेत सहभागि बनाएर राष्ट्रिय सरकारको प्रयासमा देखिएपछि ओलीको प्रेसर बढेको छ । रिक्त रहेको गृहसहितका मन्त्रालय काँग्रेसलाई दिँदा सहमति हुने बुझेपछि प्रचण्डको कसरत कमजोर देखिएको छैन । किनकि केहीदिनअघिमात्रै काँग्रेस नेता शशांक कोइरालाले गृहमन्त्री पाए किन सरकारमा नजानु ?भन्दै आतुरता दर्शाएका थिए । जसमाथि कटाक्ष गरेका ओलीले काँग्रेस गृहमन्त्री होइन, गृहराज्यमन्त्री दिएपनि आइहाल्छ भन्दै व्यङ्य गरेका थिए ।

प्रधानमन्त्रीले गृहमन्त्री फर्काउन नचाहेकै कारण सरकारमा सहभागि राष्ट्रिय स्वतन्त्र पार्टी समर्थन कायमै राखेर बाहिरिएको छ । जसबाट ओली खुशी छैनन् ।रास्वपा बाहिरिएपछि गृहसहित शिक्षा र श्रम प्रधानमन्त्री आफैँसँग छन् । वन र खेलकुद मन्त्रालयमा कोही आएकै छैनन् । अब यी मन्त्रालयमा जसपा, नेकपा एकीकृत समाजवादी र काँग्रेसमध्ये कसैलाई भित्र्याउने तयारी प्रचण्डको हो । तर रास्वपा बाहिरिनु प्रधानमन्त्रीकै कमजोरीका रुपमा हेरिएपछि फेरि सरकारमा फर्काउनेबारे प्रयत्न जारी रहेको विषय सरकारकै प्रवक्ताबाट सार्वजनिक भएको छ ।

ओलीसँग टक्करकै टकराव चलाइरहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमै राष्ट्रिय सहमति खोज्न दौडधुप चलाएपछि एमाले यसै सशंकित छ । यद्यपी ओली एमालेकै उम्मेदवार र एमालेकै नाममा राष्ट्रिय सहमतिको अडानमा छन् । अब यो विषय औपचारिक रुपमै सत्ता गठबन्धनको उच्चस्तरिय राजनीतिक संयन्त्रमा पुग्दैछ । बुधबार बिहान बालकोट गएका प्रधानमन्त्री प्रचण्ड र ओलीबीचबिहिबार नै बैठक राखेर राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने सहमति भएको छ ।

तथापी प्रचण्ड ओलीले चाहेको व्यक्ति नभएर सबै दललाई मान्य हुने उम्मेदवारको खोजिमा छन् । कथम ओली–प्रचण्डबीच सहमति भत्किए काँग्रेसको कित्तामा सत्ता पुग्न सक्छ । जुन उसको बेग्र प्रतिक्षाको विषय हो । तर अहिलेको अर्जुनदृष्टि सत्ता नभइ राष्ट्रपति भएको काँग्रेसको मत छ । गठबन्धनमा रहेको अविश्वास र विग्रहकै कारण सत्ता फेरबदलको सुरुआत पश्चिमबाट हुने संकेत मिलेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन मानेको छैन । रेशम चौधरीको रिहाइलाई मुख्य मुद्धा बनाएको पार्टी आफ्ना सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि झनै चिढ्डीएको छ ।एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र रावललाई विश्वासको मत नदिने निर्णय नै गरेपछि ठूलो दलको हैसियतले काँग्रेस सत्तामा जाने सम्भावना बढेको छ ।बिहिबारसम्म नागरिक उन्मुक्ति पार्टीलाई मनाउन गठबन्धन असफल भए, राष्ट्रपतिको निर्वाचन अगावै सुदूरपश्चिमबाटै काँग्रेसको सत्तारोहण र एमालेको सत्ता बहिर्गमन सुरु हुनेछ ।