Breaking

ओलीले दुईतिहाइ नेतृत्वको सरकार चलाउन पाए पनि मुलुकको हितमा काम गर्न सकेन: प्रदीप पौडेल


काठमाडौँ — नेपाली कांग्रेसका नेता एवम सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद् पाँच वर्षअघि नै बिघटन हुने डर आफूलाई लागेको बताएका छन्। ओलीले संसदमा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उनको जिकिर थियो । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केपी ओली प्रवृत्ति बलियो हुँदै गयो भने त्यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन नसक्ने आरोपसमेत लगाए ।

नेता पौडेलले ओलीले आफ्नै अहंकारका कारण आफू नेतृत्वको सरकार गुमाउनुपरेको पनि बताए । ओलीले दुईतिहाइ नेतृत्वको सरकार चलाउन पाए पनि मुलुकको हितमा काम गर्न नसकेको उनको बुझाइ थियो । नेता पौडेलले भने, ‘केपी शर्मा ओलीको अस्तिको सम्बोधनले संसदमा धेरै ठूलो अहंकार प्रस्तुत भएको छ ।

उहाँले मौका नपाउनुभएको होइन । उहाँले दुई तिहाईको सरकार ३ वर्ष संचालन गर्ने मौका पाउनुभयो। मलाई लाग्छ–आजसम्मको इतिहासमा उहाँको समयमा जति भ्रष्टाचार कहिल्यै मौलाएन । त्यो सरकारलाई हामीले ढालेको होइन। केपी ओलीजीको अहंकारले त्यो सरकार ढलेको हो । मलाई लाग्छ–आजको यो हंग पार्लियामेन्ट पनि केपी ओलीजी जस्ताको प्रवृत्तिको कारणले पाँच वर्ष नै टिक्न नसक्ने स्थितिमा पुग्छ कि भन्ने मलाई डर लाग्छ ।