Breaking

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै


काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज विश्वासको मत लिँदैछन् ।

प्रदेशसभाको बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको र विश्वासको मत लिने कार्यसूची रहेको सुदूरपश्चिम प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले बताए ।

मुख्यमन्त्री रावललाई विश्वासको मतको वातावरण नबनेपछि गत माघ ११ का लागि बोलाइएको बैठटक सो दिन बैठक बस्नै सकेन । त्यसपछि अनिश्चित बनेको बैठक करिब तीन सातापछि बस्दै छ । नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले मुख्यमन्त्री रावललाई विश्वास मत नदिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।

गत पुस २७ गते नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ। यस्तोमा नागरिक उन्मुक्तिले नदिने निर्णय गर्दा रावल नेतृत्वको सरकार एक महिना नपुग्दै ढल्नेछ ।

२७ पुसमा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सहित २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेका हुन् ।

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावलले एक महिना पुग्नै लाग्दा पनि न विश्वासको मत लिन सकेका छन् न मन्त्रिमण्डल विस्तार नै गर्न सकेका छन् ।

मुख्यमन्त्री भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मत लिने समयावधिको उत्तराद्र्धमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी गरेका छन् । आफ्ना सांसदहरूलाई भने धनगढी नछाड्न एमाले लगायत सत्तारुढ दलहरूले सर्कुलर जारी गरिसकेका छन् ।