Breaking

रास्वपाले राजीनामा दिएसंगै शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्री शिशिर खनाल र श्रममन्त्री डोल प्रसाद अर्यालले आइतबार राजीनामा दिएका थिए प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई जिम्मेवारी सुम्पेकी हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका थिए ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेकाले उनको सांसद पद बदर भएको सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेले राजीनामा दिएका थिए । उनको राजीनामापछि गृह मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंसँग राखेका छन् । रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए । गत पुस ११ गते रास्वपा सभापति लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका थिए । रास्वपाका अन्य मन्त्रीहरूले भने माघ ३ गते मात्र सपथ लिएका थिए ।

माघ १३ गते सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएको हो । अदालतको आदेशपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए ।