Breaking

संकटमा रहेका प्रचण्ड सुविधामा,ओलीको घेराबन्दीमा काँग्रेसको गठबन्धन बन्दै,रास्वपा रोक्ने वाचा


काठमाडौँ — राष्ट्रपति र गृहमन्त्रीको विषयले गठबन्धन एक छैन । सत्ताधारी दलहरुभित्रकै मतभेद् र काँग्रेसको राष्ट्रपति हत्याउने दाउले संकट बढ्दै गएको प्रक्षेपण गठबन्धनभित्रैबाट भइरहेका छन् । झन एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड इतरको मोर्चाबन्दीकै प्रयास गरेपछि अविश्वास बढेको छ । तर घेराबन्दीमै परेका प्रधानमन्त्रीसँग धेरै विकल्प देखिन्छन् । सत्ता गठबन्धनबाटै घेराबन्दीमा परेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काँग्रेसको समर्थनले बलवान् छन् । कुनै दलले समर्थन झिक्दैमा आफुलाई संकट आइहाल्ने अवस्था नरहेको बुझेपछि उनी शक्तिशाली मुद्रामा पेश हुनु आश्चर्य भएन ।

रास्वपाले सरकार छाड्नेविषयमा समेत प्रचण्डले यस्तै भावभंगिमा प्रस्तुत भएका थिए । तर अन्तिममा आफैंले रास्वपालाई घण्टी बजाएर रोक्न पुगेपछि गृहमा रविलाई फर्काउने चर्चा यथावत् रहेको छ । यद्यपी प्रचण्डले रविलाई स्वीकार्न अझै तयार छैनन् भने, रास्वपाभित्र पनि गृहको उपयुक्त हकदार नभएकोलेमन्त्रालय आफैसँग राख्ने मतमाओवादीको छ । किनकि यति गर्दैमा पनि तत्काल समीकरण फेरबदल भइहाल्ला भन्ने अवस्थामा प्रचण्ड विश्वस्त छैनन् ।

एकातर्फ मुद्धा खेपिरहेको र अर्काेतर्फ गैरसांसद व्यक्तिलाई मन्त्री बनाइहाल्न प्रधानमन्त्रीलाई धर्मसंकटकै विषय छ । तर एमाले अध्यक्ष ओलीले पनि दबाब दिन थालेपछि गठबन्धन तलमाथि भइहाल्छ कि भन्नेसम्मको आँकलन चलिरहेको छ । तर बिहिबार नै सरकारबाट समर्थन झिक्ने तयारी गरेको रास्वपाले ओली–प्रचण्ड दुवैको आग्रहपछि शनिबारसम्मको समय दिएको थियो ।समयसीमा सकिन केही घण्टामात्रै बाँकी रहँदा पनि यसबारे ठोस निर्णय आएको छैन ।

यता निर्वाचनअघिकै गठबन्धन ब्यूँताउन भूमिगत गृहकार्य भइरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुर व्यापक गृहकार्यमा जुटेका छन् । राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्षमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भएपनि गठबन्धन ब्यूँताउनेमै नेताहरुको ध्यान केन्द्रीत बनेको थियो ।फलतः माधवकुमार नेपालले गठबन्धनको आयु नै तोकिदिएका छन् । यो गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिको निर्वाचनसम्ममात्रै थेग्नसक्नेमाधवको भनाइले झन ओली–प्रचण्डमाथि अविश्वास बढाएको छ ।

माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरुको बसउठ् बाक्लो बन्दै गएको छ । उपप्रधान तथा भौतिकपूर्वाधार मन्त्रीसमेत रहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठशुक्रबार नै माधवकुमार नेपालकै निवासमा पुगेर सहकार्यबारे वार्ता गरेका थिए ।त्यसको एकदिन अघि माओवादीको बैठक चल्दाचल्दै समाजवादीका विजय पौडेल प्रवेश गरेका थिए ।यसले पनि गठबन्धनमाथि नै गडबडी बढाइरहेको छ ।

अब राष्ट्रपतिको निर्वाचनसम्म यथास्थितिमै गठबन्धन रहनेबारे प्रश्न उठ्न थालेको छ । यसले छेउमा बसेर सकून् लिइरहेको नेपाली काँग्रेसलाई भने फाइदा नै पुग्दैछ । राष्ट्रपतिमा ओली–प्रचण्डको अलमल, गृहमा रवि र प्रचण्डको टकराव, गणतन्त्र र राजतन्त्रमा लिङ्देन–प्रचण्डको माथापच्ची । प्रचण्डले अहिले नीति सिद्धान्तदेखि पदसम्मका विषयमा सरकारवादीबाटै धम्की खाइरहेका छन् । तर त्यसपछि पनि प्रचण्ड संकटमा परेका छैनन् ।

अहिले गठबन्धनभित्र जतिसुकै घेराबन्दीमा परेपनि प्रचण्डसँग विकल्पहरु धेरै छन् । तर प्रचण्ड छुट्टीए ओलीलाई देउवा स्वीकार्नु वा मनाउनुको विकल्प छैन । जुन निकै परको सुविधा हो । यद्यपी फागुन १५ मा राष्ट्रपतिका लागि हुने मनोनयन र फागुन २५ मा हुने निर्वाचनसम्म प्रधानमन्त्री प्रचण्डले खेल्ने भूमिकाकै भरमा अबको सत्ता अड्किएको छ ।