Breaking

मलेसियाका गृहमन्त्री इस्माइल आज काठमाडौं आउँदै


काठमाडौँ — मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन् । इस्माइल आज साँझ ७ बजे काठमाडौँ त्रिभुवन विमानस्थलमा आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । इस्माइलको नेपाल भ्रमणका क्रममा थप कामदार पठाउने र त्यहाँ रहेका कामदारको सुरक्षा सुनिश्चित गर्ने विषयबारे छलफल हुने जनाइएको छ ।

नेपालको प्रमुख श्रम गन्तव्यका रूपमा चिनिने मलेसियाका गृहमन्त्री इस्माइलले ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ बारे छलफल गर्ने जनाइएको छ । उनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै अर्थ, श्रम र परराष्ट्र मन्त्रालयका अधिकारीसँग मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ बारे छलफल गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाली श्रमिकको सुरक्षा, कामदारको सङ्ख्या र पारिश्रमिक वृद्धिसहित सबै विषयमा छलफल हुने छ । मलेसियामा हाल करिब सात लाख नेपाली कामदारहरू रहेको सरकारी आंकडा छ ।