Breaking

काठमाडौँमा ग्याल्पो लोसार गुथुक साँझ आयोजना, के हो गुथुक ?


काठमाडौँ – बौद्ध धर्मावलम्बीहरूको चाड नयाँ वर्ष ग्याल्पो लोसार विभिन्न कार्यक्रमसहित मनाइने भएको छ ।

लोसारको अवसरमा फागुन ७ गते हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले काठमाडौँको ज्योती पार्टी प्यालेस कुमारीगल लाउरेटोलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । धार्मिक मान्यताअनुरूप ‘ताक लो’ (बाघ वर्ष) लाई विदा गरी ‘ह्ये लो’ (खारायो वर्ष) २१५० औँ क्ष्यू मो ह्ये लो भव्य रुपमा मनाउन लागिएको संस्थाक महासचिव छोटी शेर्पाले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण दुई वर्ष आयोजना गर्न नसकिएको लोसार गुथुक साँझ, साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरण तथा संस्कृतिक कार्यक्रम यो वर्ष भव्य रुपमा आयोजना गर्न लागिएको महासचिव शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।

गुथुक साँझको अवसरमा ख्यातिप्राप्त कलाकारहरू वरिष्ठ गायक लाक्पा शेर्पा, लोकप्रिय गायक रोज मोक्तान, चर्चित गायक दावा के शेर्पा, सोनाम शेर्पा (काहानी, लमु शेर्पा, पल्मु शेर्पा, आष्मान लोप्चन र मिङमा शेर्पाको बेजोड प्रस्तुतिको साथमा नेपालको पहिलो डिजे तेन्जिङको डिजेसेस्न समेत रहेको शेर्पाले बताउनुभयो ।

बौद्ध धर्मको महायानी सम्प्रदायमा साम्बोटा लिपीले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा तिथिमिति परिवर्तन हुँदा बौद्ध धर्मावलम्बीले नयाँ वर्ष ग्याल्पो लोसार मनाउने गर्छन् ।

शेर्पा, तामाङ, भोटे, गुरुङ, थकाली, ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीले पात्रोअनुसार चारै वटा लोसार मनाउने गर्छन् । लोसारमा छेमार र छेयाङफुद सजाउने गरिन्छ । नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना (गुथुक), खाप्से र फलफूल खाएर शुभकामना साटासाट गरी विश्वभर एकै समय लोसार मनाउने गरिन्छ ।

बर्सेनि १२ लो (चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, खरायो, गरुङ, सर्प, घोडा, भेडा र बाँदर) वर्ष परिवर्तन भएर नयाँ वर्षको सुरुवात हुन्छ । तिथि परिवर्तन भई १२ महिना सकिएर नयाँ वर्ष लागेसँगै ग्याल्पो लोसार मनाइने गरिन्छ ।

महायानी सम्प्रदायमा साम्बोटा लिपीले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु)मा कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चार वटा लोसार उल्लेख छ । हिमाली क्षेत्रका बासिन्दाले लोसार (नयाँ वर्ष) लागेको शुभ संकेतस्वरूप जौ र गहुँका बाला राख्ने गर्छन् ।

के हो गुथुक
लोसार शुरु हुनु दुई दिन अघि, अर्थात १२ औँ महिनाको औँसीको अघिल्लो दिन यस वर्षको फागुन ७ गते वा ङिश्यु गु कृष्णपक्षको चर्तुदसीका दिन आफ्नो घरभित्र र घर वरिपरि सरसफाइ गरि निस्किएको फोहोर र पुराना लुगा कपडा केहि सिक्का नुन खुर्सानी नाङलोमा राखि तीन वटा बाटोको संगम भएको स्थानमा लागि फाल्दा दशाग्रह जाने र घरमा शुभ–लक्षण भित्रने विश्वास गरिन्छ । साथै त्यसदिन गुम्बाहरूमा लामाद्धारा पूजापाठ गर्ने चलन छ । त्यस दिनको साँझमा एक विशेष प्रकारको परिकार गुथक खाने चलन छ ।

‘गुथुक’ को शाव्दिक अर्थ गु नौ थुक मिश्रण अर्थात नौ प्रकारको विभिन्न खाद्यवस्तु मिश्रण गरि बनाइएको एक प्रकारको खाना हो । यो परिकारमा नौ प्रकारको खाद्यवस्तु विभिन्न आकृतिमा र विभिन्न प्रतिकका रुपमा बनाइएको हुन्छ । जसलाई नयाँ वर्षको भाग्य परिक्षणका रुपमा लिइन्छ । जसको भागमा जुन प्रतीक पर्छ सोहीअनुसार फल मिल्छ भन्ने मान्यता छ । जस्तै सूर्यको प्रतीमा तेज, चन्द्रमाको प्रतीकमा प्रसिद्धी, तोर्माको प्रतीकमा इमान्दार, धर्मशास्त्रको ठेलीको प्रतीकमा विवेकशील, चारपाटे आशनको प्रतीकमा आन्नदित हुने विश्वास गरिन्छ । यस्तै, ताराको प्रतीकमा छुच्चो, खुर्सानीको प्रतीकमा चलाख, कोइलाको प्रतीकमा कालोमन, डमरुको प्रतीकमा चञ्चल हुने विश्वासका साथ मनोरञ्जन पूर्वक पुरानो वर्षलाई बिदा गर्ने चलन छ ।

भोलिपल्ट नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी अथवा कोही नउठिसकेको समयमा २/३ बजे उठेर पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजा गरी धारामा करक्याङ (घ्यू), खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पुजापाठ गरी सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ । त्यस पछि घरका ठुलावडाबाट अशिर्वाद लिइ चिया, खप्सा लगायत प्रसाद खाने र विशेष गरी ‘छ्याङगुल’ (जाँडमा छोर्पी, बदाम, नरिवल किसमिस आदि मिसाएर एक परिकार) खाँदै घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ । लोसारमा अशुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गर्ने गरिन्छ ।

लोसारका लागि तयार पारेर राखिएका परिकारहरू छिमार, खप्से, लगायतका प्रसाद भगवानलाई चढाउने र घरका सवै परिवार सम्भव भए नयाँ लुगा लगाउने नभए पनि सफा लुगा लगाउने, र मान्यजनको हातबाट आशिर्वाद लिने गरिन्छ । त्यसपश्चात आफ्नो जन्मदिन अनुसारको शुभतिथि हेरि घरको दुरी, आगँन अथवा डाडाँहरूमा गएर दीर्घायु सु–स्वास्थ्यको कामना सहित घरका सबै परिवारको सुख शान्तिको कामना गर्दै ध्वाजा (लुङ्दार) टाग्ने गरिन्छ र आफ्नो घर–छरछिमेकमा लप्सो मनाउने गरिन्छ । लामाबाट (रम्ने) अभिषेक गरेरमात्र लुङ्दार टाग्नुपर्ने हुन्छ । परिवारबीच लोसार मनाई सकेपछि छिमेकीलाई घरमा बोलाएर अहिले शहरीय क्षेत्रमा पिकनिक (बनभोज) आयोजना तथा विभिन्न तरिकाबाट पनि लोसार मनाउने गरिन्छ ।

के हो छिमार र खप्से ?
शेर्पा समुदायले विशेष कार्य गर्दा विशेष रुपमा ‘छिमार’ बनाइन्छ । छिमार भन्नाले सातुमा नौनी घिउ, मह, चिनी, दुध मिसाएर बनाइएको एक प्रकरको प्रसाद हो । लोसारमा खाप्से अर्थात् रोटीको समेत विशेष महत्व रहेको पाइन्छ ।