Breaking

अनाथालयका वार्डेनविरुद्ध २ बालिकाको बलात्कार जाहेरी


काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित समाज कल्याण बाल अनाथालयका प्रमुख (वार्डेन) ५१ वर्षीय शंकर बहादुर चन्द विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ ।

अनाथालयमा आश्रय लिएर बसेका बालिकामाथि बलात्कारको आरोपमा चन्द मंगलबार दिउँसो पक्राउ परेका थिए । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर अदालतबाट अनुसन्धानका लागि एक साताको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार अनाथालयमा बस्ने १४ वर्षीया दुई बालिकालाई वार्डेन चन्दले बलात्कार गरेको आरोप छ ।

चन्दले विगत एक वर्षदेखि यौनजन्य गतिविधि गर्दै आएको पीडित बालिकाको बयान छ । १४ वर्षीया ती बालिकाले प्रहरीलाई दिएको बयान अनुसार अनैतिक सम्बन्धले गर्भ रहेको थियो । त्यसपछि वार्डेन चन्दले १४ गते गर्भपतनको औषधि सेवन गर्नका लागि दिएको ती बालिकाले प्रहरी समक्षको प्रारम्भिक बयानमा भनेकी छन् ।

ती बालिका करिब ४ वर्ष अगाडि मात्रै अनाथालयको आश्रयमा आएकी थिइन् । यस्तै, अनाथालयकै अर्की १४ वर्षीया बालिकाले पनि आफूमाथि बलात्कार गरेको आरोपमा चन्द विरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।

उक्त अनाथालयमा २२ बालक र ५ बालिका बस्दै आएका छन्। ती बालिकालाई अहिले प्रहरीले ‘सेफ हाउस’मा राखेको छ । ती बालिकाको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । पीडितको स्वास्थ्य परीक्षण रिपोर्टले अनुसन्धानलाई सघाउने छ ।