Breaking

नेपालमा शक्ति राष्ट्रको चलखेल बढ्दै, अमेरिका र चीनको के के छन् स्वार्थ ?


काठमाडौँ— प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सत्ताको वागडोर सम्हाले यता कुटनीतिक क्षेत्र सक्रिय बनेको छ । प्रधानमन्त्रीदेखि मन्त्रीहरु समेत दैनिकजसो कुनै न कुनै कुटनीतिक भेटघाटमा व्यस्त छन् । अस्थिर आन्तरिक राजनीतिक परिस्थति र नेपालप्रति शक्ति राष्ट्रहरुको निरन्तर बढ्दो आकर्षण चासोको विषय बनेको छ ।

कम्युनिष्ट नेतृत्वले नेपालको सत्ता सम्हालेपछि छिमेकी मुलुक चीन जति प्रसन्न छ मित्र राष्ट्र अमेरिका उत्तिकै तनावमा छ । उनीहरुको पछिल्लो कुटनीतिक कदमले यस्तै संकेत गर्दछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनासाथ लामो समयदेखि बन्द नाका दुईतर्फी सुचारु, पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै चीनले प्रचण्डलाई उपहार दिए ।

नेपालका लागि चिनियाँ राजदुत चेन सोङ दुईपक्षीय कुटनीतिक भेटघाटमा भ्यानभ्याई छन् । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेर बहादुर देउवा सहित मन्त्रीहरुसँगको भेटघाट र छलफलमा उनी सक्रिय छन् । यता एकाएक कम्युनिष्ट नेतृत्वले सत्ता हत्याएपछि अत्तालिएको मित्र राष्ट्र अमेरिकाले उच्चस्तरीय भ्रमण नै गर्न भ्याएको छ ।

आइतवार नेपाल ओर्लिएकी राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग दुईपक्षीय भेटवार्ता गरिन् ।

उनले एसिया तथा मध्य एसियाली देशहरुको भ्रमणको सुरुवात नै काठमाडौंबाट थालेर नेपाललाई विशेष महत्व दिएको सन्देश मात्र दिईन्न अमेरिकालाई आफ्नो प्राथमिकतामा राख्न आग्रह समेत गरिन । एकाएक भएको अमेरिकी उच्च अधिकारीको यो भ्रमण मुलत दुई पक्षीय हित र साझेदारी मात्र नभई बढ्दो चिनिया प्रभाव निस्तेज गर्नु भएको विज्ञहरु बताउँछन ।

नयाँ सरकार बनेपछि नयाँ आशा अपेक्षा स्वभाविक हो । कुटनीतिक क्षेत्रमा पनि नयाँ आशा अपेक्षा तथा योजना अघि सार्नु अस्वाभाविक होइन । नयाँ सरकार गठनपछि कुटनीतिक आयामवारे छलफल बहस नर्विकल्प सर्त समेत हो । तर पनि नेपालमा कम्युनिष्टको सरकार बने चीनतर्फ ढल्किने र कांग्रेस नेतृत्वको सरकार गठन हुँदा भारत र अमेरिकातर्फ ढल्किएको आरोप लाग्दै आएको छ । नेताहरुको स्वार्थका कारण यो विषय थप व्यवहारत झल्किने गर्दछ । परिणाम राजनीतिक अस्थिरतामै टेकेर विदेशी शक्तिहरुको चलखेल बढ्दो छ भने त्यसको उपज मुलुकले राजनीतिक अस्थिरता वेहोर्नु परिरहेको छ ।

संसदीय अंकगणितका आधारमा संसद अस्थिर छ । असाधारण समर्थन सहित विश्वासको मत प्राप्त गरेर प्रधानमन्त्री भए पनि प्रचण्डका लागि आन्तरिक राजनीतिक सत्ता समिकरण फलामको चिउरा चपाएर सरह छ, भने अस्थिर राजनीतिमा आफु रजगज गर्ने ध्याउन्नमा उदत्त शक्ति राष्ट्रहरुको बढ्दो सक्रियता पनि कम चुनौतिपूर्ण छैन ।

अस्तव्यस्त कुटनीतिक क्षेत्रलाई ट्रयाकमा ल्याउँदै राष्ट्रहित अनुकुल स्वतन्त्र र निष्पक्ष विदेश नीति सञ्चालन प्रचण्डका लागि आफैमा पेचिलो प्रश्न हो । बदलिँदो भु–राजनीतिक अवस्थिति र सामारिक महत्वलाई समेत लेखाजोखा गर्दै विदेश मामिला प्रचण्डको प्रखरता परीक्षामा छ ।