Breaking

जसपाको विधान अधिवेशनमा पेचिलो बन्दै पहिचानको मुद्दा


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान मस्यौदा समितिले अहिले आफ्नो कामलाई तीव्रता दिएको छ ।

(जसपा) नेपालको गत पुस १८ र १९ गते सम्पन्न राजनीतिक समितिको बैठकले पार्टीको विधान अधिवेशन गर्ने निर्णय गर्यो । विधान मस्यौदा समितिले अहिले आफ्नो कामलाई तिव्रता दिएको छ ।

विधान अधिवेशन मूलरुपमा पार्टीले उठाएको पहिचानको मुद्दा र सांगठनिक संरचनाबारे केन्द्रीत हुने देखिन्छ । जसपाको हालको विधानमा केन्द्रीय, प्रादेशिक र स्थानीय तहका विभिन्न सांगठनिक संरचनाहरुको व्यवस्था छ ।

खासगरी पहिचानमा आधारित लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, नेवा, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खसान र दलित/शिल्पी विशेष (१०ं+१) राष्ट्रिय समितिहरु र सातवटा प्रदेशस्तरीय संरचना (जसपाले भन्ने गरेको प्रशासननिक-संरचना) बीच शक्तिको बाँडफाँट र अधिकार क्षेत्रका बारेमा नेताहरुबीच फरक धारणा छन्।

यी दुई खाले संरचनामध्ये राजकीय मामलामा हाल जसपाले प्रदेशस्तरीय समितिलाई कार्यकारी र पहिचानमा आधारित राष्ट्रिय समितिलाई समन्वयकारी हैसियत प्रदान गरेको छ । समग्रमा पहिचानको मुद्दाबारे पुनर्विचार गरौं भन्ने आवाज उठ्न थालेको जसपा प्रचार प्रसार विभागले जनाएको छ । यस अर्थमा पहिचानको मुद्दा जसपाको विधान अधिवेशनको पेचिलो विषय बन्ने देखिन्छ।