Breaking

ग्वार्कोमा ट्याक्सी र कार ठोक्किँदा २ जनाको मृत्यु, ६ यात्रु घाइते


काठमाडौँ — ललितपुरको ग्वार्कोमा ट्याक्सी र कार आपसमा जुध्दा २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बा.२ ज ३४२० नम्बरको ट्याक्सी र बा. ४ च १ नम्बरको कार गएराति ग्वार्कोको सडकमा आपसमा ठक्कर खाएका हुन् । दुर्घटनामा ट्याक्सीमा सवार सुनसरी घर भई हाल ललितपुर ताल्चीखेल बस्ने ४७ वर्षीय सरोज कुमार विक र कारमा सवार चितवन घर भई हाल काठमाडौँ ग्रिनल्यान्ड बस्ने ३२ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बीएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्सीमा सवार ५ जना र कारमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।