Breaking

गृहमन्त्री हुँदा रविले के गरे ? सदनबाटै भ्रष्टाचारीलाई थुन्नेदेखि निर्मला पन्तको व्यायसम्म


काठमाडौँ — छोटो समयमा नै राजनीतिक छलांग मारेका रवि लामिछाने सञ्चारकर्म हुँदै गृहमन्त्री सम्म बन्ने अवसर पाए । ३२ दिन सम्म गृहको जिम्मेवारी सम्हालेका उनले यो छोटै समयमा केके गर्न भ्याए त ? गत पुस ११ गते सञ्चारकर्मबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालिन सभापति रवि लामिछानेलाई नेपालले गृहमन्त्रीका रुपमा पायो । २०४७ सालपछि बहुदल आएसँगै २१ औं गृहमन्त्री बनेका लामिछानेलाई ३२ दिन पछि सर्वाेच्च अदालतले सांसद बन्न अयोग्य रहेको ठहर गर्दै मन्त्री, सांसद र पार्टी सभापति पनि नरहने गरि पदमुक्त गरिदियो । स्वार्थ बाझिँने मन्त्रालयमा ३२ दिन मन्त्रीको जिम्मेवारी सम्हालेका उनले केही कामहरु भने गर्न भ्याए । भित्रै पसेर काम गर्न चाहेका उनको कार्यकाल धेरै भने टिक्न सकेन ।

गृह मन्त्रालय सम्हालेसँगै रवि लामिछानेको पहिलो निर्णय पाँच वर्षसम्म पनि टुंगो लाग्न नसकेको मुद्धा निर्मला पन्त हत्याको दोषीलाई कारवाही गर्ने थियो । जसका लागि उनले काम अघि बढाइसकेका थिए । प्रहरी प्रधान कार्यालयबाट डिआइजीको नेतृत्वमा अनुसन्धान गर्न कञ्चनपुर पुगेका टोलीले डीएनएको लागि सेम्पल लिएर फर्किसकेको र त्यसको केही रिजल्ट नेगेटिभ आइसकेको छ । मन्त्री बनेको भोलीपल्टै ४८ घण्टाभित्र नियम विपरीत विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षकर्मीलाई फिर्ता बोलाउने निर्णय पनि प्रभावकारी देखियो ।

परिणामत २ दिनमा नै १९४ जना सुरक्षार्थी फिर्ता भए ।
पहिलो सम्बोधन नै उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा गरेका रविले सशस्त्र प्रहरी बलको कार्यक्रममा आफ्नो लागि राखिएको छुट्टै सोफा हटाउन लगाएर सबै समान भएको संकेत दिएका थिए । तर, गृहमन्त्रीको रूपमा सरकारी क्वाटरमा सर्दा पिर्के सलामी खारेज गरेका उनले उक्त कार्यक्रममा पिर्के सलामी लिए पछि भने आलोचना खेप्नु पर्याे ।उच्च स्तरिय गठबनधनको प्रमुख हिस्सा बनेका उनी राजनीतिक सबै निशानामा परेका थिए । प्रचण्ड र ओलीको सारथी बने पनि सबैको आँखाको तारो बन्दा राजनीतिक दवावको सामना गर्नु परेको थियो ।

लामिछानेले गृहमन्त्री हुँदा केही प्रहरीको सुरुवा पनि गर्न भ्याए। प्रहरीमा रिक्त भएको एआइजी पदमा बढुवा गर्नुपर्ने समयमाउनले डिआइजीहरुको काज सरुवा गर्दा सबै प्रदेशका प्रहरी प्रमुख फेरिए।
लामिछानेको नेतृत्वमा सबैभन्दा धेरै आलोचित विषय भने सांसद लक्ष्मी महतो कोइरी प्रकरणको थियो । प्रहरीको फरार सूचीमा रहेका सांसद कोइरी पुस २६ गते प्रतिनिधि सभामा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै गर्दा एउटै हैसियतमा बसेपछि रविको ठूलो आलोचना भयो ।

सत्ता घटक एमाले कोइरीलाई बचाउने र रवि खोजिरहने प्रक्रिया अन्तिम दिनसम्म पनि चलिनै रह्यो । राजनीतिक दबाबले हुने अपराधको विरोध गर्ने रविले आफ्नो कार्यकालको अवधिमा आफूलाई प्रमाणित गर्न सकेनन्। निर्मला कुर्मीलाइ न्याय दिन नसके पद छोड्छु भनेका रविले कुर्मीले न्याय नपाउँदै आफै पद मुक्त हुन पर्याे ।

इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाह प्रयास र उपचारका क्रममा निधन भएपछि पनि उनले तत्काल एक्सनमा उत्रिए । बिहीबारघटना छानबिन गर्न गृह मन्त्रालयकासहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। देशैभरका क्रसर उद्योग बन्द गराएको उनको अन्तिम निर्णय भने सशर्त तिनै उद्योगलाई खुला गराउने रह्यो ।३२ दिनमा रविले गृह मन्त्रालयमा बस्दा केही महत्वकांक्षी योजना ल्याए। केहीमा विवादित पनि बने। उनको पूरा कार्यकालमा के गर्थे भन्ने हेर्न र महसुस गर्न बाँकी नै थियो। तर,भित्रै पसेर केही गर्न चाहन्छु भन्ने उनको चाहाना ३२ दिनमा नै पानीको फोका जस्तै फुटेको छ ।