Breaking

पश्चिमाले युद्ध ट्यांकहरू पठाउने वाचा गरेको भोलिपल्टै युक्रेनमा दर्जनौं मिसाइल प्रहार, ३५ भवन क्षतिग्रस्त


काठमाडौँ — संयुक्त राज्य अमेरिका र जर्मनीले युक्रेनमा दर्जनौं युद्ध ट्यांकहरू पठाउने वाचा गरेसँगै रुसी सेनाले फेरि मिसाइल प्रहार गरेको छ । ऊर्जा पूर्वाधारलगायतका क्षेत्रमा मिसाइल प्रहार भएपछि युक्रेनले प्रतिरोधको चेतावनी दिएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रतिरोधका काम भइरहेको भन्दै युक्रेनी जनतालाई आश्वासन दिइरहेका छन् । संयुक्त राज्य अमेरिका र जर्मनीले युक्रेनमा दर्जनौं युद्ध ट्यांकहरू पठाउने वाचा गरेको भोलिपल्टै रुसी सेनाले ऊर्जा पूर्वाधारसहितका क्षेत्रमा दर्जनौं मिसाइल प्रहार गरेको छ । एयर डिफेन्सलाई छेडेर युक्रेनका विभिन्न भागमा रुसले प्रहार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिका र जर्मनीले दर्जनौं युद्ध ट्यांकहरू पठाउने वाचा गरेपछि रुसी सेनाले प्रहार गरेको मिसाइललाई अर्थपूर्ण रुपमा हेरिएको छ । मिसाइलबाट कैयौँ मानिसको ज्यान गएको बताइएको छ ।

३५ वटा भवनमा क्षति पुगेको युक्रेनको राज्य आपतकालीन सेवाले जनाएको छ । रूसी रकेट कोचुबेभको काउन्सिल भवन लगायतमा पनि प्रहार भएको सैन्य अधिकारीहरुले टेलिग्राममार्फत जानकारी दिएका छन् । रुसले जाडो मौसममा युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गरी प्रहार गरेको निकै लामो समय भइसकेको छ । अक्टोबरदेखि रूसले युक्रेनको ऊर्जा केन्द्रहरूमा एक दर्जन भन्दा बढी क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गरेको छ । जसका कारण बिजुली आपूर्ति ठप्प हुँदा नागरिकहरु कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । पछिल्लो रुसी मिसाइल आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरूसँग थप हतियार माग गरेका छन् । रूसी आक्रमणलाई पर्याप्त हतियारको साथले मात्र रोक्न सकिने जेलेन्स्कीको जिकिर छ ।

उनले युक्रेनी जनतालाई सतर्क रहन पनि आग्रह गरेका छन् । रुसले प्रहार गरेका ५५ वटा क्षेप्यास्त्रमध्ये धेरैजसोलाई खसाल्न सफल भएको युक्रेनको दाबी छ । त्यही कारण हजारौँ नागरिकको ज्यान जोगिएको युक्रेनको तर्क छ । त्यसको श्रेय जेलेन्स्कीले पश्चिमा देशहरुलाई दिएका छन् । राष्ट्रपति जेलेन्स्कीले पूर्वी डोनबास क्षेत्रमा लडाई सबैभन्दा भयंकर रहेको औल्याएका छन् । उनले युक्रेनी सेनाले भारी आक्रमणको सामना गरिरहेको भन्दै संरक्षणको खाँचो समेत औल्याएका छन् । रूसले कब्जाको रणनीति लिए पनि त्यसलाई विफल पार्न आफूहरु लागिपरेको जेलेन्स्कीको दाबी छ । रुसले चाल्ने हरेक कदमको प्रतिरोध गरिरहेको भन्दै जेलेन्स्कीले विजय निश्चित रहेको आश्वासन युक्रेनी जनतालाई दिइरहेका छन् ।