खेलकुद

किरात राई खेलकुद संघद्वारा पदक विजेता खेलाडीलाई सम्मान


काठमाडौँ— किरात राई खेलकुद पत्रकार संघले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ । संघले बिहीबार आफ्नो १०औं स्थापना दिवसको अवसरमा सागमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ जना खेलाडीलाई सम्मान गरेको हो ।

संघका सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । सागमा स्वर्ण पदक जित्ने उसुका जुनी राई, गल्फका शुक्रबहादुर राई र तेक्वान्दोका सुशीला राई सम्मानित भएका छन् ।

सागमा पदक जित्नेहरू करातेका एस्तार राई, तेक्वान्दोका संगीता राई, ब्याडमिन्टनका अनुमाया राई र सिता राई, भारत्तोलनका संगीता राई र अस्मिता राई र आर्चरीका इमायुङ राई सम्मानित भएका छन् । त्यस्तै बास्केटबलका डा। आशा राई र विकास चाम्लिङ राई, ह्याण्डवलका उमा राई, रञ्जना राई र निशा राई, शारीरिक सुगठनका उमेश राई र देवराज पराजुली र बक्सिङका पुरान राईलाई खेलकुद संघले सम्मान गरेको छ ।

त्यसैगरी बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राई र टिम व्यवस्थापक मिना कुमारी राई र प्रमिला राईलाई पनि संघले सम्मान गरेको छ । कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यलयमा आयोतित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खेलाडीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए ।