राजनीति

बागमतीको मन्त्रिपरिषद्ले आज पूर्णता पाउँदै


काठमाडौँ — बागमती प्रदेश सरकारले आज (बुधबार) पूर्णता पाउने भएको छ । मंगलबार मन्त्रालय निर्धारण कार्य समितिले मुख्यमन्त्री जम्मकट्टेल समक्ष ११ मन्त्रालयको प्रतिवेदन पेश गरेपछि मन्त्रालय टुंगो लगाउन हिजो साँझै क्याबिनेट बैठक बसेको थियो ।

सो बैठकपछि आज दिउँसो २ बजे बागमतीका बाँकी ८ मन्त्रीलाई सपथ ग्रहण गराउने जनाएको छ । सरकारलाई समर्थन गरेको कांग्रेस बाहेक ५ राजनीतिक दलहरू सरकारमा जान चाहेको बताए पनि निस्वार्थ समर्थन गरेको भन्दै थपलियाले एमाले, माओवादी र राप्रपा गरेर तीन दल मात्रै सरकारमा जाने तयारी भएको बताए ।

कुन मन्त्रालय कसलाई भन्ने कुरा प्रष्ट्याउन नचाहेका उनले दलको शक्तिको आधारमा भागबण्डा मिलाउने तयारी भइरहेको बताए । प्रदेशमा नेतृत्व गरेका ७ दलहरूमध्ये मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेमकिपा बाहेक ६ दलले समर्थन गरेका थिए ।

त्यसमध्ये कांग्रेस र नेमकिपा बाहेकका ५ दलहरु एमाले, माओवादी, राप्रपा, हाम्रो नेपाली पार्टी र नेकपा एकीकृत समाजवादीले मन्त्रालयमा दाबी गरिरहेका छन् । कुन दललाई कति मन्त्रालय भन्ने नखुलाए पनि दाबी अनुसार एमालेले ५, माओवादीले ४ र राप्रपाले २ मन्त्रालय पाउन सक्ने स्रोतले बताएको छ ।

११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।