Breaking

आज पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ – आज (बुधबार) पनि देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाहेक दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली (आकाशमा थोरै बादल) देखि मौसम सामान्यतया सफा रहनेछ ।

बुलेटिनअनुसार आज राति देशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । यसबाहेक लुम्बिनी, गण्डकी, बागमती, मधेश, र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।