Breaking

रविको दह्रो विश्वास, कोइरीलाई काँग्रेसले किन दियो सम्मानरु एमाले बचाउमा उत्रियो, रवि मात्रै किन दोषी ?


काठमाडौँ — हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीको विषयले चर्काे रुप लिएको छ । गृहमन्त्रीकै अघि संसदबाटै फरार भएका कोइरी पक्राउ नपरेपछि विपक्षीहरु आलोचनामा उत्रिएका छन् भने सत्ता गठबन्धन बचाउ गर्न थालेको छ । देउवाले विभूषण दिएका कोइरीलाई रविले हतकडी दिन खोजेपछि एमाले अध्यक्ष ओलीले भारत भगाइदिएको आरोप छ ।हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीका बारेमा अहिले सामाजिक सञ्जालभर यस्तै टिकाटिप्पणी भइरहेका छन् ।तर एमाले सांसदहरुले कोइरीको बचाउ गर्दै अपराधी भनिहाल्न नमिल्ने र एमालेमाथि दाग लगाउन पनि नमिल्ने दाबी गरेका छन् ।

एमाले सांसद महासेठले कोइरी दोषी भए पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेलाई सुझाव समेत दिएका छन् । तर पक्राउ नभएकै विषयलाई एमालेसँग जोडेर प्रचार नगर्न आग्रह पनि गरेका छन् । जबकि हत्या आरोपी कोइरीलाई पार्टीमा भित्र्याएर टिकट दिने र चुनाव जिताएर संसद छिराउन महासेठकै भूमिका महत्वपूर्ण थियो ।अहिले सत्ता गठबन्धनको नेतृत्वकर्ता एमालेकै दबाबमा कोइरी उम्कीएको भन्दै गृहमन्त्रीमाथि चर्काे आलोचना भएपछि महासेठहरु प्रतिवादमा उत्रिएका छन् ।

र उनले नेपाली काँग्रेसमाथि पनि गम्भीर आरोप लगाएका छन् । यसअघि सरकार र गृहको नेतृत्व गरेको काँग्रेसले किन पक्राउ गर्न सकेन ? महासेठको प्रश्न छ । पक्राउ गर्नु त परेकै कुरा झन गत बर्षको संविधान दिवसका अवसरमा नेपाली काँग्रेस नेतृत्वको सरकारले कोइरीलाई प्रबल जनसेवाश्रीबाट सम्मानित गरेको भन्दै अपराधी नभन्न आग्रह नै गरेका हुन् ।

पुस २४ गते बसेको संसद बैठकमा कोइरी पनि सहभागी थिए । २६ मा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा कोइरी मतदानमै सहभागी भएर भोट हाले । त्यसपछि सामाजिक सञ्जालतिर कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीलाई दबाब पर्न थाल्यो ।गृहमन्त्री पनि पक्राउभन्दा सामाजिक सञ्जालतिरै स्पष्टीकरण दिन र निर्देशनदिनतर्फ केन्द्रीत बने । यतिसम्मकि आफ्नै निर्देशन नटरेकोभन्दै गम्भीर ध्यानाकर्षणसहितको पत्र प्रहरीलाई पठाएपछि उनको व्यापक विरोध भयो ।त्यसपछिको बैठकमा पनि सहभागी भएर कोइरीलेसभामुखको निर्वाचनमा समेत मतदान गर्ने प्रयास गरेका थिए ।

तर नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसदमै प्रश्न उठाएपछि उनी बाहिरिए । सरकार हेरेको हेरेई, गृहमन्त्री पनि हेरेको हेरेई ।पक्राउ गर्नुपर्ने सूचीमा रहेका व्यक्तिलाई प्रहरीले वास्तै गरेन । अहिले उनी फरार भएर भारत छिरेको हल्ला छ । तर कतिपयले सत्ताकै आडमा नेपालमै लुकेर बसेको भन्दै आलोचना पनि गरिरहेका छन् ।सरकार र गृहमन्त्रीमाथि पहिला लुक्ने बन्दोबस्त गरिसकेपछि मात्रै पक्राउ गर्नआदेश दिएको भन्दै विरोध भइरहेको छ । राजनीतिलाई अपराधिकरण गरेको आरोपसमेत लागिरहेको छ ।

कोइरी यसअघि पनि बारम्बार चर्चा र विवादमा आएका छन् । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोपमा उच्च अदातल जनकपुरले २०७७ मंसिर १९ गते पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी फरार भए ।गत बर्षको असोज ३ गते संविधान दिवसका अवसरमा उनलाई प्रबल जनसेवाश्रीबाट विभूषित गरिएपछि फेरि उनको चर्चा र आलोचना भयो । मंसिर चारको निर्वाचनअघि एमालेमा प्रवेश गरि महोत्तरी १ बाट निर्वाचित भएका उनी अहिले फेरि चर्चामा आएका हुन् ।तर कोइरीलाई पक्राउ गर्न आदेश दिएपछि तीनवटा सरकार परिवर्तन भएका छन् ।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा गृहमन्त्री रामबहादुर थापा बादल थिए ।काँग्रेस सभापति देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँण थिए । अहिले प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछाने गृहमन्त्री छन् । र उनैमाथि पुरापुर दोष थुपारिएको छ । पहिलेका सरकारले उनलाई पक्राउ गर्न किन चासो देखाएनन् यो अर्काे तर गम्भीर प्रश्न होला ? तर अहिले संसदमै हत्यारा सांसद छिरेको भन्दै रविमाथि दोष थुपारिएको हो । र रविले यसपटक पनि छिट्टै निर्णयमा पुग्ने विश्वास दिलाएका छन् । यदि कोइरी सांसदमा निर्वाचित हुँदैन थिए भने सायद चर्चा पनि हुँदैन थियो होला ।

तर कोइरीकै विषय नयाँ उर्जासहित संसद छिरेका गृहमन्त्रीका लागि पहिलो गाँसमै ढुंगा बनेको छ । कोइरीलाई पक्राउ गरि कानुनी कठघरामा उभ्याउनु उनको पद र भविष्यसँग जोडिएको छ । तर शक्तिशाली गठबन्धनको नेतृत्वकर्ता दल एमालेका अध्यक्ष ओलीका अघि उनी धर्मसंकटमा छन् । आफ्नै नागरिकता मुद्धा अदालतमा विचाराधीन रहेको र एमाले अध्यक्ष ओलीले त्यसमा पनि चलखेल गर्नसक्ने बुझेका उनी सरकारमा गएको एक महिना नपुग्दै नैतिक संकटको चाङमाथि सवार गरिरहेका छन् ।