Breaking

राष्ट्रपतिमा काँग्रेसभित्रै कलह, पौडेल पीरमा, प्रचण्डमाथि सिटौला भरोशा, एमालेले नपाए गठबन्धन भत्किने


काठमाडौँ — राष्ट्रपतिमा साझा सहमति जुटाउने विषयले नेपाली काँग्रेसभित्रै कलह जन्मिएको छ । यता सत्ता गठबन्धनमा ओली–प्रचण्डबीच तिक्तता र शंकाले ठाउँ पाउन थालेको छ । यसलाई कतिपयले गठबन्धन फेरबदलकै संकेतमा रुपमा बुझिरहेका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमतिसहित साझा व्यक्ति आउनुपर्ने चाहना सबैभन्दा बढी कसैलाई छ भने, त्यो नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छ ।

आफ्नै पार्टी सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्री नदिएपछि प्रलापमा परेका पौडेलले त्यसलगत्तै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएका थिए ।तर काँग्रेसबाट आफुलाई एकल उम्मेदवारका रुपमा उठाएका पौडेलकै अघि देउवाले कृष्णप्रसाद सिटौलाको नामसमेत लिएपछि अब उनी संकटमा परेका छन् । राष्ट्रपतिमा न राष्ट्रिय सहमति, न देउवाको रोजाइ ?पौडेल पीरमा परेका छन् ।

पदाधिकारी बैठकमा देउवाले सिटौलाको नाम लिएपछि पौडेल यत्तिकै झस्किएका थिए । झन सिटौलाले काँग्रेस–माओवादी जोड्ने पुलको काम आफुले मात्रै गर्न सक्ने दाबी गरेपछि उनीलाई खपीनसक्नु भयो । किनकि शान्ति सम्झौता यता माओवादी र काँग्रेसबीच भएका हरेक सहमतिमा सिटौला सुत्राधारको काम गर्दै आएका छन् । त्यहि सुत्रलाई शक्तिमा बदल्दै अब सिटौला राष्ट्रपतिको बलियो आकांक्षी बन्न खोजिरहेका छन् ।

यसका लागि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले साथ दिने विश्वास पनि उनलाई छ । तर सभामुखसमेत झापा नै लिएका ओलीलाई झापाबाटै राजनीति गरिरहेका सिटौलाले सहमत गराउने अवस्था छैन । किनकि सरकार गठनकै बेला सत्ता गठबन्धनबाट राष्ट्रपति एमालेलाई दिने सहमति भएकाले काँग्रेसलाई कटौरी थाप्नुमात्रै हुने एमाले नेताहरुको भनाइ छ ।

राष्ट्रपति आफ्नो भागमा परेपछिमात्रै एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई स्वीकार गरेको थियो । तर राष्ट्रपतिमा साझा सहमति खोज्ने प्रयासको विजारोपण पनि प्रचण्डबाटै भएको हो ।विश्वासको मत लिँदा काँग्रेसले पनि आफुलाई समर्थन दिएको भन्दै प्रचण्ड साझा सहमति खोज्ने लाइनमा छन् । तर ओलीले एमालेकै उम्मेदवार हुने र त्यसमा सबैले सहमति जनाउनुपर्नेस्पष्टोक्ति दिइसकेका छन् ।यसले ओली–प्रचण्डबीच तिक्तता र शंका उपशंका जन्मिएको छ । काँग्रेस पनि प्रचण्ड संविधान रक्षाकै पक्षमा रहेकाले आफुलाई साथ दिने दृढ विश्वासमा छ ।

कतिपयले यहीकारण राष्ट्रपतिको निर्वाचनसम्म गठबन्धननै फेरबदल हुने तर्क पनि गरिरहेका छन् । काँग्रेस पनि राष्ट्रपति पदकै लागि प्रचण्डलाई विश्वासको मत दिएको भन्दै गुमेको हैसियत फर्काउने दाउमा छ । प्रचण्डपछि प्रधानमन्त्री हुने बाटो बनाउन पनि काँग्रेसलाई राष्ट्रपति अपरिहार्य छ । यसैलाई हतियार बनाएर गुमेको प्रधानमन्त्री पद फर्काउने र ओलीसँग बद्ला लिने दबाबमा पनि देउवा छन् ।

सत्तामा भएका साना दलहरुको सहज व्यवस्थापन गर्न सकिने आँकडा पनि काँग्रेसले निकालेको छ । उपेन्द्र यादव, सीके राउत र रञ्जिता श्रेष्ठ जस्ता साना दलका नेतृत्वहरु पनि साझा व्यक्तिकै खोजि गर्नुपर्ने तर्क गरिरहेका छन् । तर भागबण्डादेखि नै खल्तीमा नाम बोकेर हिडिरहेका ओली, राष्ट्रपति आफ्नो भागमा नआए साढे बर्षपछि प्राप्त हुने प्रधानमन्त्री पनि गुमाइन्छ भन्ने पुरापुर विश्वासमा छन् ।अब राष्ट्रपतिको निर्वाचनसम्म ओली–प्रचण्डको सम्बन्ध कुन आँकडामा उतारचढाब गर्छ, त्यसैले परिणाम दिनेछ ।