समाचार

सन्धिखर्कमा भूकम्प गएपछि…


काठमाडौँ – दिउँसोको समय मानिस घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासि आवाज आयो ( भूकम्प आयो, भूकम्प आयो, बचाउनु होस्, बचाउनु होस् ।

टुँडिखेलमा रहेको घर भूकम्पले गल्र्याम, गुर्लुम्म ढल्यो । नजिकै रहेको भान्सा कोठामा दनदनी आगो लाग्यो । घरमा रहेका मानिस भूकम्प आयो, घर आगो लाग्यो, गुहारगुहार भन्दै बाहिर निस्किए । एकै छिनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम आयो । घरमा लागेको आगोलाई निभायो । भत्किएको घरभित्र रहेका र घरमै च्यापिएका चार जनालाई पुरिएको घरबाट बाहिर निकाल्यो ।

साइरन बजाउँदै त्यसै बखत एम्बुलेन्स आए । च्यापिएको घरबाट निकालिएका घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पठाइयो । सोही समय दमकल पनि आयो। घरमा लागेको आगो निभायो । सुरक्षाकर्मीको टोलीले घरमा च्यापिएका लत्ता कपडा, अन्नपात निकाले । घरमा रहेका सदस्यलाई घर पनि बनाइदिन्छौँ चिन्ता नगर्नु भनेर सहानुभूतिसमेत दिए ।

यो दृश्य सन्धिखर्कको टुँडिखेलमा भूकम्प आउँदा हुन सक्ने अवस्था र क्षतिको विषयमा जिल्ला सुरक्षा समितिले देखाएको कृतिम अभ्यासको हो । भूकम्प आउँदा के कस्ता घटना हुन्छन् । र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ भनेर जिल्ला सुरक्षा समितिको आयोजना र सन्धिखर्क नगरपालिकाको सह आयोजनामा कृतिम अभ्यास गरिको थियो ।

साँच्चिकै भूकम्प आएकोजस्तो देखिने दृश्यमा उपस्थित भएकालाई भूकम्पबाट बच्न सकिने उपायका बारेमा डेमो प्रदर्शन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

भूकम्प जति नै बेला पनि आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट कृतिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए ।