Breaking

सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछौँः स्वास्थ्यमन्त्री गिरी


काठमाडौँ —नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने बताउनुभएको छ । मंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै नेपालीहरुमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभएको हो । उहाँले सबै पालिकाहरुमा निर्माणाधिन अवस्थामा रहेका अस्पतालहरुमा आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापनमा पनि ध्यान दिइने बताउनु भयो ।

उहाँले जनताहरुले गुणस्तरीय सेवा लिन सकुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि रफ्तारमा काम अगाडी बढाउने बताउनु भयो । उहाँले भन्नुभयो – ‘सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आम नेपाली जनताको, खासगरी सिमान्तकृत जनताहरु, उपेक्षामा परेका जनताहरु, पछाडी परेको जनताहरु, विपन्न जनताहरुसम्म स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्नेकुरा हाम्रो मुख्य चुनौति हो । त्यो पूरा गर्नेगरी हामीले सम्पूर्ण ध्यान त्यसमा केन्द्रित गर्छौं । अहिले सबै पालिकाहरुमा ५ देखि १५ बेडसम्मका अस्पतालहरु निर्माणको प्रक्रियामा छन् ।

त्यहाँ आवश्यक जनशक्तिहरु व्यवस्थापन गर्नुपर्ने होला । इक्वीपमेण्टहरुको व्यवस्थापन गर्नुपर्ने होला । गाउँका जनताले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सकुन् । हाम्रो चाहाना त्यो हुन्छ । त्यसका लागि एकदम द्रुत गतिमा रफ्तारका साथ हामी त्यो कामलाई अगाडी बढाएर लिएर जान्छौँ । अहिले भइराखेका जतिपनि अस्पतालहरु छन्, त्यहाँ इक्विपमेण्टको अवस्था के छ ? गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि के के अवरोधहरु छन् ? ति सबै कुराहरुको पहिचान गरेर त्यसलाई समाधान गर्नेतर्फ पनि ध्यान दिएर काम अगाडी बढाउने छौँ ।

मन्त्री गिरीले स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले सबै नागरिकहरुलाई स्वास्थ्य बीमाको दायराभित्र ल्याउने र गुणस्तरीय स्वास्थ्य सेवा दिने बताउनु भयो । उहाँले भन्नुभयो – ‘नेपालमा शिक्षा, स्वास्थ्यमा विकराल समस्या छ । गरिव जनताको पहुँचभन्दा बाहिर छ । उपचार नपाएर मर्नुपर्ने स्थिति छ । स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन कसरी गर्न सकिन्छ ? यसका कहाँ कहाँ के के समस्याहरु छन् ? ति समस्याहरु पनि हामीले बुझेर स्वास्थ्य बीमालाई अझै फराकिलो बनाए लिएर जाने ।

सबै नागरिकहरुलाई त्यसको दायराभित्र ल्याउने र गुणस्तरिय स्वास्थ्य सेवा दिने । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले मन्त्रालयमा आएपछि स्वास्थ्य सेवाका न्युनतम मापदण्ड सम्बन्धी पहिलो निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा सबै नेपालीहरुको पहुँचमा पु¥याउनका लागि मापदण्ड बनाएको बताउनु भयो । त्यस्तै वडास्तरसम्मका स्वास्थ्य केन्द्रहरुमा आँखासम्बन्धी स्वास्थ्य सेवा बिस्तारित गर्नेगरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति बनाएको पनि उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘पहिलो निर्णय हामीले स्वास्थ्य सेवाका न्युनतम मापदण्ड सम्बन्धी गरेका छौँ ।

त्यसअन्र्तगत पालिकास्तरमा हुने स्वास्थ्यकेन्द्रहरुमा हुनुपर्ने उपकरणहरु, जनशक्तिहरु, सेवाहरु सम्बन्धिका नियमनकारी मापदण्डहरु छन् । त्यो साथसाथै क्षेत्रियस्तरका अस्पतालहरु, जिल्लास्तरका अस्पतालहरु, केन्द्रिय, प्रादेशिक स्तरका अस्पतालहरुमा हुनुपर्ने मापदण्ड सम्बन्धीका निर्णय आज लिएका छौँ । र यसैमा आधारित भएर आवश्यक संशोधन पनि बेलाबखतमा गर्दै जानेछौँ र यसमा हाम्रो उद्देश्य चाहीँ आम नागरिकले, ३ करोड नेपालीले नै चाहे सुगममा हुन् ।

चाहे दुर्गममा हुन् । हरेक व्यक्ति व्यक्तिले महशुस गर्नेगरी संविधानको धारा ३५ लाई सुनिश्चित गराउनका लागि गुणस्तरीय स्वास्थ्य सेवा आम नेपालीको पहुँचको पु¥याउनको लागि हामीले यो मापदण्ड सेट गरेका छौँ । दोस्रो निर्णय, राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिसम्बन्धी निर्णय लिएका छौँ । जसअन्तर्गत आँखा सम्बन्धी स्वास्थ्य सेवालाई विकेन्द्रिकरण गरिकन हामीले वडा स्तरसम्मका स्वास्थ्य केन्द्रहरुमा कसरी आँखासम्बन्धी स्वास्थ्य सेवा बिस्तारित गर्न सकिन्छ त्यो सम्बन्धी निर्णय लिएका छौँ ।

हाम्रो प्रतिवद्धता यहीँ नै रहन्छ, आम नेपालीको पहुँचमा, हरेक व्यक्ति व्यक्तिले अनुभुति गर्नेगरी मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य सेवालाई हामीले सुनिश्चित गराउनेछौँ । त्यसको लागि स्वास्थ्य बीमालाई अनिवार्य गरिकन हरेक नेपाली नागरिकले अनुभुति गर्नेगरी यसलाई हामीले प्रभावकारी ढंगले अगाडी बढाउने छौँ ।