काठमाडौँ – लामो समयदेखि चीनसंगको उत्तरी तातोपानी नाका बन्द हुँदा देशले आयात निर्यातमा मात्रै नोक्सानी बेहोरेको छैन, त्यस क्षेत्रका कृषकहरुले समेत आफ्नो उत्पादन बजारमा पुर्याउन पाएका छैनन् । व्यवसायीक कृषि तथा पशुपंक्षि फार्म संचालन गरेका कृषकहरु तातोपानी नाका नखुलेकोमा निरास छन् । कोरोना महामारीपछि ठप्प रहेको चीन जोड्ने तातोपानी नाका अझै बन्द छ । नाका नखुल्दा नेपाल–चीनबाट आयातनिर्यात पूर्ण रुपमा ठप्प छ । जसका कारण देशले ठूलो आर्थिक नोक्सानी खेप्नु परेको छ । र भारत तर्फको निर्भरता अझै बढाइरहेको छ । त्यत्ति मात्रै होइन नाका नखुल्दा तातोपानी क्षेत्रका नेपाली कृषकहरुले समेत आर्थिक संकट र मानसिक पीडा खेप्नु परेको छ ।
तातोपानी नाका खुल्दा तातोपानी आसपासका गाउँका कृषकहरुले आफ्नो उत्पादनलाई तोतोपानी बजार र अरनिको राजमार्ग अन्तर्गतका होटल तथा रेष्टुरेन्टहरुमा विक्री गर्न पाउँदथे । यहाँका कृषकले कृषि उत्पादनबाटै उपार्जनको राम्रो श्रोत निर्माण गर्दथे । नारायणथान, लिस्तीकोट, मार्मिङ लगायत एक दर्जन गाउँका सयौँ कृषकहरुले उत्पादन गरेका आलु, मुला, साग, गोलभेडा देखि खसी, कुखुरा र कालिजसम्म राजमार्गका होटलहरुमा खपत हुने गर्दथो ।
नेपाल चीन आवत जावत गर्ने पर्यटकदेखि ढुवानीका लागि प्रयोग हुने कन्टेनरका कर्मचारीले यस क्षेत्रका होटल तथा लजहरु भरिभराउ हुने गर्दथ्र्याे । र गाउँका कृषकहरुले व्यवसायीक आम्दानीमा थप लगानी गरेका थिए । कतिपयले टनेल लगाएर सागसब्जीसहित तरकारीहरु उत्पादन गर्न सुरु गरेका थिए भने कतिपयले ठूलो लगानीमा खसीबोका देखि कालिज फार्मसम्म सुरु गरेका थिए । तर विगत ३ वर्षदेखि तातोपानी नाका ठप्प हुँदा यस क्षेत्रका कृषकहरु रुनु की हास्नुमा परेका छन् । एकातिर लगानी डुबीरहेका छ भने अर्कातिर आर्थिक अभावले जीवन गुजारा गर्न समेत कठिनाइ बेहोरिरहेका छन् ।
नारायाण थानका सोनाम शेर्पा र उनकी श्रीमति निमा साङमो शेर्पाले यस कालिज फार्ममा झण्डै करोड लगानी गरिसकेका छन् । उत्पादन भएको कालिज तथा कुखुराका अण्डा नेपाल सीमा भित्र मात्रै नभई सिमा पारी चीनको लिपिङ, खासामा समेत विक्री हुने सपना देखेका थिए । तर बजार अभावका कारण अहिले विलखबन्दनमा परेका हुन् । नाका बन्द हुँदा भोटेकोशी गाउँपालिका झण्डै ५ सय व्यवसायीक कृषकहरु संकटमा परेका छन् । २०७२ सालको भूकम्पबाट अधिक पीडित बनेका यहाँका नागरिकहरु बर्षेनी बाढि पहिरोको विपत्तिमा पनि पर्दै आएका छन् । त्यसमाथि नाका ठप्प हुँदा यस भेगका नागरिक चौतर्फी चपेटामा परेका हुन् । यस क्षेत्रमा बेरोजगारी समेत बढ्दै गएको छ भने बजार क्षेत्र सुन्यप्राय छ ।
यहाँका नागरिकहरुले तातोपानी नाका खुलाउनु पर्ने दवाव नवनिर्वाचित जनप्रतिनिधिहरुलाई दिइरहेका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर एक अन्तर्गत पर्ने तातोपानी नाका खुलाउन भर्खरै निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले पहल थालिसकेको बताएका छन् । तातोपानी नाका खुलाउन नेपाल सरकारले यस अघि पटक पटक चीनसंग संवाद गरेको थियो । तर चीनले सकरात्मक भूमिका नखेलेको नेपाल सरकारको बुझाई छ । यस पटक नयाँ सरकार गठन भएसंगै थालिएको पहलकदमीले तातोपानी नाका छिट्टै खुल्ने पुनः आशा पलाएको छ । दुई देशको पारस्परिक हित र नेपालको सीमापार व्यापार व्यवसायका लागि समेत यो नाका छिटो सुचारु हुनजरुरी छ ।
प्रतिक्रिया