देश

सडक निर्माणको काम अलपत्र पार्नेलाई कारबाही

योहो संवाददाता

काठमाडौँ— उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्ने बताएका छन् ।

जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको भन्दै उनले घरबेटी वा दाजुभाइको नाममा कसैले उन्मुक्ति नपाउने बताएका छन् ।

आज काठमाडौंको सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने बताएका हुन् ।

उनले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा सरकार लागिसकेको बताएका छन् । त्यसका लागि तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले ‘देशभरकै सडकलाई दुरुस्त बनाउने, राम्रोसँग गाडी चललाउने बनाउने, फुटपाथ पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागेको बताएका छन् ।